सन् २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने चीनको लक्ष्य


काठमाडौँ । चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत सन् २०३० सम्ममा औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य राखेको छ ।

स्टेट काउन्सिलद्वारा सार्वजनिक गरिएको यो योजना सार्वजनिक चिकित्सा सेवामा सुधार गर्ने र ‘स्वस्थ चीन’को अभियानलाई अगाडि बढाउने चीनको व्यापक प्रयासको एक हिस्सा हो ।

यसले स्वास्थ्य सेवामा निष्पक्ष पहुँच विस्तार गर्ने, सक्रिय स्वास्थ्य व्यवस्थापनमा व्यापक जनचेतनालाई प्रोत्साहन गर्ने र देशका प्रमुख स्वास्थ्य सूचकहरूलाई उच्च–आय भएका अर्थतन्त्रहरू सरह पुर्‍याउने उपायहरू तय गरेको समाचारमा उल्लेख छ ।

यस योजनाले सार्वजनिक स्वास्थ्य आपत्कालीन प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न तथा प्राथमिक तहको रोग रोकथाम र उपचारमा सुधार गर्न थप आह्वान गरेको छ ।

यसले सबै मानिसका लागि चौतर्फी जीवन–चक्र स्वास्थ्य सेवाहरूलाई अनुकूल बनाउने, बलियो स्वास्थ्य सुरक्षाहरू सुदृढ गर्ने, एक एकीकृत एवं उच्च–गुणस्तरको चिकित्सा सञ्जाल निर्माण गर्ने, र धूम्रपान–मुक्त वातावरणको निर्माणलाई अगाडि बढाउने प्रमुख कार्यहरूलाई जोड दिएको छ ।

यस योजनाले १५ वर्ष र सोभन्दा माथिका मानिसहरूमा धूमपानको दरलाई २० प्रतिशतमा झार्ने,धुमपान–मुक्त वातावरणको निर्माणलाई अगाडि बढाउन र धूमपान त्याग्नका लागि दिइने सेवाहरूलाई सुदृढ गर्न आग्रह गरेको छ ।

जीवन–चक्र स्वास्थ्य सेवाहरूमा सुधार गर्न, यसले बच्चा जन्माउने कार्यलाई सहयोग गर्ने नीतिगत ढाँचा परिमार्जन गर्ने भनिएको छ ।