कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए


काठमाडाैँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन ६५ वर्षीय सिंहको शव आइतबार निरन्तर खोजी गर्ने क्रममा जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो घरबाट निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि उनले आफूनिकट व्यक्तिलाई फोन गरी आफू जंगलमा बाटो बिर्सिएको बताएका थिए। त्यसपछि आफन्त, स्थानीय र प्रहरीले खोजी थालेका थिए।

खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा सिंहले प्रयोग गर्ने मोटरसाइकल भेटिएको थियो। आइतबार सोही क्षेत्रको जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।