नेपालको हितअनुसार सन्धि–सम्झौता पुनरावलोकन गर्न सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल


काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय कानून र कुटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरावलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने पनि बताए ।

उनले नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने उल्लेख गरे ।

कानून, न्याय तथा संदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने कार्य भइरहेको उनकाे भनाइ छ ।

सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने काम समेत भइरहेको मन्त्री खनालले बताए।

मन्त्रालयले उपलब्ध जनशक्ति र साधनस्रोतका आधारमा प्राथमिकता निर्धारण गरी वार्षिक कार्ययोजनाअनुसार सन्धि–सम्झौताको समीक्षा तथा प्रगतिको काम नियमित रूपमा अघि बढाइरहेको मन्त्री खनालको भनाइ छ ।