गरिमा क्यापिटलमा नेतृत्व परिवर्तन, अशोक सुवेदी निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त


काठमाडाैँ । गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा अशोक सुवेदी नियुक्त भएका छन् ।

सञ्चालक समितिले कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत रहेको सुवेदीलाई निमित्त सिइओको जिम्मेवारी दिएको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता २०८३ साल श्रावण मसान्तमा समाप्त हुने तथा दुवै पक्षको सहमतिमा उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको सञ्चालक समितिले जनाएको छ ।

कम्पनीको नियमित व्यवस्थापन तथा दैनिक कारोबारलाई निरन्तरता दिन अर्को व्यवस्था नभएसम्मका लागि अशोक सुवेदीलाई २०८३ भदौ १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

गरिमा क्यापिटलले नेप्सेमा सूचीकृत बन्दमुखी योजना गरिमा समृद्धि योजनाको योजना व्यवस्थापकसमेत रहेको छ । व्यवस्थापकीय नेतृत्व परिवर्तनले संस्थाको नियमित सञ्चालन र लगानीकर्ता हित संरक्षणमा निरन्तरता रहने कम्पनीले विश्वास व्यक्त गरेको छ ।