काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदनमा मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति गठन गर्ने व्यवस्था थप्न सुझाव दिएका छन्।
बुधबार बसेको अर्थ समितिको बैठकमा प्रतिवेदनमाथिको छलफलका क्रममा केरुङले मौद्रिक नीति निर्माणका विषयमा छुट्टै समितिले अध्ययन र छलफल गरेर निष्कर्ष दिने व्यवस्था भए देशको अर्थतन्त्रका लागि उपयोगी हुने बताए।
उनले दफावार छलफलका क्रममा आफूहरू गहन रूपमा सहभागी भएको र सदस्यहरूको सुझावकै आधारमा समिति सर्वसम्मत निर्णयमा पुग्न सहज भएको उल्लेख गरे। गभर्नरलगायत पदाधिकारीको पदावधिका विषयमा आफ्नो फरक धारणा भए पनि समितिको सर्वसम्मत निर्णयमा त्यसले बाधा नपार्ने उनले स्पष्ट पारे।
सांसद पुष्पराज कँडेल र परशुराम तामाङले पदावधिसम्बन्धी फरक मत अभिलेख गर्ने विषय उठाएको उल्लेख गर्दै केरुङले आफू पनि त्यसमा सहमत रहेको बताए।
समितिको प्रतिवेदन सर्वसम्मत रूपमा तयार भइसकेपछि नयाँ विषय थप्न मिल्ने वा नमिल्ने विषयमा समेत उनले प्रश्न उठाए। दफावार छलफल र प्रतिवेदनमाथिको छलफलमा समितिका सदस्यहरू नै सहभागी हुने भएकाले सान्दर्भिक देखिए मौद्रिक नीति निर्माण समितिको व्यवस्था थप गर्न सकिने उनको धारणा थियो।
‘मौद्रिक नीति निर्माण गर्ने समिति बनाउँदा राम्रै हुन्छ भन्ने निष्कर्षमा म पनि पुगेँ,’ उनले भने।
केरुङले राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन तयार पार्ने क्रममा लोकतान्त्रिक प्रक्रियाबाट गहन छलफल भएको भन्दै समिति सभापति र सदस्यहरूलाई धन्यवाद दिए। अन्तिम प्रतिवेदन सदनमा पठाउने चरणमा पुगेकाले समितिको काम पूरा हुन लागेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्