काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ काे चाैथाे त्रैमासमा ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड अनुसार कायम नगरेको र अनिवार्य नगद मौज्दात नराखेको भन्दै राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त, मातृभूमि लघुवित्त, धौलागिरी लघुवित्त, एनआईसी लघुवित्त, वीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्तलाई कारबाही गरेकाे हाे ।
फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको जनाएकाे छ।
त्यसैगरी धौलागिरी लघुवित्तले ६.३८ प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेकोले शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको हाे ।
मातृभूमि लघुवित्तको पुँजीकोष अनुपात झनै कम अर्थात् ४.०८ प्रतिशत मात्र रहेको पाइएपछि शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको उल्लेख गरिएकाे छ। एनआईसी लघुवित्तले पनि ६.३९ प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेकोले विनियम ३ (क) बमोजिम कारबाहीमा परेको छ।
अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले दुई संस्थालाई नगद जरिवाना समेत लगाएको छ।
वीन नेपाल लघुवित्तले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि ५८.३८ रूपैयाँ नगद जरिवाना तिरेकाे छ ।
सञ्जीवनी लघुवित्तले लगातार चार महिना, २०८२ चैत, २०८३ बैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ। विभागले २०८३ साउन २७ गते र २०८३ भदाै १२ मा गरेको कारबाहीअनुसार पहिलो, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७१३.८८ रूपैयाँ, एक हजार ६७.४० रूपैयाँ, एक हजार ४१२.९१ रूपैयाँ र एक हजार ४१०.७८ रूपैयाँ नगद जरिवाना लगाइएको छ।


प्रतिक्रिया दिनुहोस्