बैंकिङ क्षेत्रको समस्या ‘टर्मिनल इलनेस’ होइन, ज्वरो मात्रै होः सिबिफिन महासचिव गोयल


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र केही समस्यामा रहे पनि ‘उठ्नै नसक्ने’ अवस्थामा नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा उनले अहिलेको अवस्था ‘ज्वरो आएजस्तो’ मात्र भएको र समयमै उपचार तथा नीतिगत सुधारमार्फत समाधान गर्न सकिने बताए ।

आर्थिक मन्दी, बजारमा मागको संकुचन र प्राकृतिक विपद्का कारण बैंकिङ क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै गोयलले नेपालको अर्थतन्त्रमा ठूलो संरचनात्मक क्षति नभएको दाबी गरे। खराब कर्जा बढ्नुमा बैंकको कमजोरीभन्दा समग्र अर्थतन्त्रको मन्दी मुख्य कारण रहेको उनकाे भनाइ थियो ।

गोयलले ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्थामा लाग्ने कर हटाउन माग गर्दै बैंकहरूको जोखिमयुक्त तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले घोषणा गरेको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरे ।

बाढीपहिरोबाट प्रभावित ऋणीलाई कर्जा पुनर्संरचनामार्फत राहत दिनुपर्ने उल्लेख गर्दै उहाँले विपद्का कारण बैंकलाई नोक्सानी भए पनि निक्षेपकर्ताको बचत सुरक्षित रहेको बताए ।

बैंकिङ क्षेत्र सुधारका लागि नियामकीय व्यवस्था, कर्जा वर्गीकरण, प्रोभिजनिङ तथा समस्याग्रस्त सम्पत्ति व्यवस्थापनमा स्पष्टता आवश्यक रहेको गोयलले बताउनुभयो । साथै, बैंकिङ क्षेत्रप्रति जनविश्वास कायम राख्न सञ्चारमाध्यमले यथार्थपरक र जिम्मेवार सूचना प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।