युद्धको चपेटामा गाजाको कृषिः तीन वर्षमा ९७ प्रतिशत जमिन उत्पादनविहीन


प्यालेस्टाइनबिच तीन वर्षदेखि जारी द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र पूर्ण रूपमा धराशायी बनेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदनअनुसार गाजाको कुल कृषियोग्य जमिनमध्ये हाल केवल ३ प्रतिशत हिस्सा मात्र उत्पादनका लागि सुरक्षित र पहुँचयोग्य रहेको छ ।

युद्धपूर्व गाजाको अर्थतन्त्रको करिव १० प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र अहिले आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ । युद्ध शुरु हुनुअघि गाजा १५ हजार २ सय हेक्टर जमिनमा तरकारी र ७ हजार ७ सय हेक्टरमा विभिन्न रुखजन्य बाली लगाउँदै आत्मनिर्भरताको बाटोमा थियो ।

तर द्वन्द्वको तीन वर्षमा उक्त कृषि भूमि खुम्चिएर ४ सय ४८ हेक्टरमा सीमित भएको छ। कृषि विज्ञ मोहम्मद अबु शमालाकाअनुसार आधारभूत कृषि सामग्री, पानी, बिजुली र इन्धनको चर्को अभावले यो क्षेत्र थप संकटमा परेको हो ।

सैन्य नियन्त्रण र ‘येलो लाइन’ भनिने सैन्य सीमा रेखाका कारण किसानहरूले आफ्नो पुख्र्यौली जग्गामा जानसमेत पाएका छैनन् । सुरक्षा जोखिम र कृषि रसायनको अभावमा उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको स्थानीय किसान मोहम्मद हसौनाले बताए ।

यो द्वन्द्वले कृषिमा निर्भर करिव ५ लाख ६० हजारभन्दा बढी मानिसको जीविकोपार्जन खोसेको छ । हमास प्रशासनले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा ३ अर्ब ४९ करोड अमेरिकी डलर बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । जग्गाको पहुँच गुम्नु र दैनिक रूपमा हुने गोलाबारीले गाजाको खाद्य सुरक्षा व्यवस्था आगामी वर्षहरूका लागि समेत अनिश्चित बनेको छ ।