अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर ४ प्रतिशतमा पुगेको छ । अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अगस्ट महिनासम्मको १२ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकांक ४ प्रतिशतले वृद्धि भएको हो, जुन जुलाई महिनाको ३.५ प्रतिशतको तुलनामा बढी हो ।
तथ्याङ्क विभागको प्रतिवेदनअनुसार मुद्रास्फीतिमा भएको यस वृद्धिको मुख्य कारण आवास र यातायात क्षेत्रको बढ्दो मूल्य हो । पछिल्लो एक वर्षको अवधिमा आवासको मूल्य ५.७ प्रतिशत र इन्धनको मूल्यवृद्धिका कारण यातायात क्षेत्रको खर्च ५.६ प्रतिशतले बढेको छ ।
यद्यपि, मुद्रास्फीतिको आधारभूत मापन मानिने ’ट्रिम्ड मीन’ भने लगातार तेस्रो महिना ३.६ प्रतिशतमा स्थिर रहेको छ ।
अर्थशास्त्रीहरूले अगस्ट महिनामा मुद्रास्फीति दर ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए, तर वास्तविक नतिजा त्योभन्दा केही कम देखिएको छ । यस तथ्याङ्कले अस्ट्रेलियाको बजारमा मूल्यवृद्धिको चाप अझै कायम रहेको स्पष्ट पारेको छ ।
उल्लेखनीय छ, मुद्रास्फीतिको यो तथ्याङ्क सार्वजनिक हुनुभन्दा एक दिनअघि मात्र अस्ट्रेलियाको रिजर्भ बैंकले नगद दरको लक्ष्य ४.३५ प्रतिशतबाट बढाएर ४.६० प्रतिशत पु¥याएको थियो ।
सन् २०११ को नोभेम्बरयताकै यो उच्च ब्याजदर हो । कृत्रिम बौद्धिकताको लहर र मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित आर्थिक दबाबलाई नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउने निर्णय लिएको थियो ।
यस्तो अवस्थामा मुद्रास्फीतिको पछिल्लो विवरणले अस्ट्रेलियाली अर्थतन्त्रमा थप चुनौती थपिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्