काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकास सम्बन्धी तालिम’ सम्पन्न भएको छ ।
२०८३ असोज ६ गतेदेखि सुरु भएको तालिम आज समापन भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले तालिम आयोजना र व्यवस्थापनका लागि आयोजक तथा महासङ्घलाई धन्यवाद दिँदै रियल इस्टेट क्षेत्रका लागि यो तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।
उनले भने,“जग्गा प्रशासन आफैँमा जटिल विषय हो, जसलाई निरन्तर सिकाइ र तालिमको आवश्यकता पर्छ। रियल इस्टेट व्यवसायमा हदबन्दीका कारण जग्गा तथा घर बिक्रीमा देखिएको जटिलता समाधान गर्न प्रयास भइरहेको छ । साथै, कित्ताकाटको समस्या र गुठी जग्गाबाट उत्पन्न अप्ठ्याराहरू शीघ्र हल गरी यस व्यवसायलाई थप व्यवस्थित र सम्मानित बनाउन मन्त्रालय लागिपरेको छ ।” उनले यस्ता तालिमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा समेत राखे ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसायमा ८–१० वर्ष अघिदेखि देखिएको हदबन्दीको समस्या र कित्ताकाटको जटिलताका कारण व्यवसायीहरू मारमा परेको तर्फ मन्त्रालयको ध्यान आकर्षण गराए ।
देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४२१ वटाले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेकाले बाँकी क्षेत्रमा कित्ताकाटको समस्या बल्झिरहेको उनको भनाई थियो । घरजग्गा कारोबारको लाइसेन्स प्राप्तिका लागि यस किसिमको तालिमलाई अनिवार्य बनाइनुपर्नेमा जोड दिँदै रियल इस्टेट सम्बन्धी सबै कम्पनीहरूलाई महासङ्घको सदस्यता लिन आग्रह अध्यक्ष घिमिरेले आग्रह गरे ।
भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले मन्त्रालयले मालपोत नियमावली संशोधन गरेदेखि नै यस्तो तालिमको आवश्यकता खड्किएको बताए । ६ हप्ताको तालिमलाई परिमार्जन गरी १५ दिनमा सम्पन्न गरिएको र आवश्यकता अनुसार यसलाई अझ परिमार्जन गर्न केन्द्र तयार रहेको उल्लेख गर्दै उनले भने,“मन्त्रालयले रियल इस्टेट सम्बन्धी छुट्टै कार्यविधि तथा नीति निर्माणका लागि गृहकार्य गरिरहेको छ ।”
मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले रियल इस्टेट सम्बन्धी कानूनहरूको संशोधन प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै प्रशिक्षार्थीहरूले भूमि प्रशासन सम्बन्धी उपयोगी ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्तै, तालिम निर्देशक रामकुमार सापकोटाले एक वर्ष अघिको परिकल्पनाले मूर्तरूप लिएको र प्रशिक्षार्थीहरूको नियमित उपस्थिति, प्रस्तुतीकरण र उत्साहजनक पृष्ठपोषणले तालिम सोचेभन्दा बढी प्रभावकारी भएको बताए ।
प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य राख्दै इन्जिनियर सुरक्षा काफ्लेले १५ दिनको अवधिमा विज्ञ प्रशिक्षकहरूबाट व्यावहारिक र उपयोगी ज्ञान हासिल गर्ने अवसर मिलेको उल्लेख गरिन् । अर्का प्रशिक्षार्थी बाबुराम अधिकारीले ५–६ वर्ष अघि नै हुनुपर्ने यस्ता तालिम ढिलै भए पनि सम्पन्न हुनु सराहनीय रहेको बताउँदै सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेकोमा महासङ्घ र तालिम केन्द्रप्रति आभार व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्