काठमाडौँ । चाडपर्वको समयमा होटल, रेस्टुरेन्ट तथा भोजनालयबाट बिक्री–वितरण हुने खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई निर्देशन दिएको छ।
विभागले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना–खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार व्यवसायीले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्रै बिक्री गर्नुपर्नेछ। उपभोग्य अवधि बाँकी रहेका खाद्य सामग्री प्रयोग गर्न, भान्सा तथा खाना वितरण गर्ने स्थान सफा राख्न र खाद्य पदार्थको प्रकृतिअनुसार उचित तापक्रममा भण्डारण गर्नुपर्नेछ।
त्यस्तै, स्वच्छ पानी र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गर्न, पकाएको तथा नपकाएको खाना छुट्टाछुट्टै राख्न, सफा भाँडाकुँडामा खाना पकाउन तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिन विभागले निर्देशन दिएको छ।
बासी, सडेगलेका, ढुसी परेका, धुलो तथा फोहोर मिसिएका वा दूषित पानीको सम्पर्कमा आएका खाद्य पदार्थ बिक्री–वितरण नगर्नसमेत विभागले सचेत गराएको छ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रावधान उल्लङ्घन गर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ।
विभागले खाद्य स्वच्छताको आधारमा व्यवसायको स्तरीकरण गरी ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ। चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न खाद्य व्यवसायीलाई तोकिएका मापदण्डको पूर्ण पालना गर्न विभागले अनुरोध गरेको हो।


प्रतिक्रिया दिनुहोस्