काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई परम्परागत व्यापारबाट माथि उठाउँदै उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खनालले बदलिँदो विश्व परिवेशमा कूटनीति सरकारी वार्ता र सन्धि–सम्झौतामा मात्र सीमित नरही ऊर्जा, डिजिटल भुक्तानी, लगानी र व्यावसायिक साझेदारीसम्म विस्तार भएको बताए।
उनले नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ र निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारतसँग रहेको उल्लेख गर्दै यस सम्बन्धलाई थप उत्पादनमूलक बनाउनुपर्ने बताए। भारतीय लगानी विस्तार, नेपाली उद्यमलाई क्षेत्रीय उत्पादन शृङ्खलासँग जोड्ने तथा व्यापारिक अवरोध हटाउने विषयमा उनले जोड दिए।
मन्त्री खनालले व्यापार सहजीकरण तथा कनेक्टिभिटी, औद्योगिक लगानी, सीमापार ऊर्जा व्यापार, डिजिटल प्रविधि र पर्यटनलाई नेपाल–भारत आर्थिक सहकार्यका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरे। नेपालको जलविद्युत् क्षमता र भारतको हरित ऊर्जा लक्ष्यबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो।
उनले निजी क्षेत्रलाई दुई देशबीचका नीतिगत समस्या समाधान गर्ने र व्यावसायिक साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै साना तथा मझौला व्यवसाय र महिला उद्यमीलाई समेत सीमापार व्यापारमा जोड्ने प्रतिबद्धता व्यक्त गरे।
परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिमार्फत लगानी आकर्षित गर्ने, बजार विस्तार गर्ने र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट नेपाल–भारतको साझा समृद्धि हासिल गर्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस्