काठमाडौं । बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर आफ्नो थातथलो फर्कने यात्रुको सङ्ख्या बढ्न थालेको छ । चाडपर्व मनाउन गाउँघर फर्किने सर्वसाधारणको चाप बढेपछि उपत्यकाका प्रमुख नाका तथा बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।
काठमाडौंका कलङ्की, कोटेश्वर, बालाजु, नयाँ बसपार्कलगायत क्षेत्रमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति देखिएको छ । अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सर्वसाधारण दशैँ, तिहार र छठ मनाउन गाउँ फर्किन थालेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पूर्वतर्फ जाने यात्रुको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा बढी देखिएको छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुको भीड कलङ्की, बल्खु र थानकोट क्षेत्रमा केन्द्रित छ ।
लामो तथा मध्यम दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गरेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । अग्रिम टिकट नलिएका कतिपय यात्रु भने टिकट व्यवस्थापनका लागि बस टिकट काउन्टरमा लामबद्ध हुने गरेका छन् ।
चाडपर्वका बेला यात्रु ठगिने, निर्धारितभन्दा बढी भाडा असुलिने तथा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले निर्धारित भाडादरभन्दा बढी असुल्ने र सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कारबाही गरिने जनाएको छ ।
विभिन्न राजमार्गमा पहिरो, सडकका खाल्डाखुल्डी तथा अन्य अवरोधका कारण यात्रा असहज हुन सक्ने भए पनि चाडपर्व मनाउन उपत्यका छाड्ने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्