बोर्डले निकाल्यो आइपिओ निष्काशनको अनुमति माग्ने कम्पनीको चरणबद्ध सूची


काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र सार्वजनिक निष्काशनका आवेदन दिएका कम्पनीहरूको चरणबद्ध सूची निकालेको छ ।

बोर्डको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष२०८३/८४ को कात्तिक ११ गतेसम्म आइपिओ निकाशनको लागि ११५ ओटा कम्पनीले आवेदन दिएका छन् ।

यी कम्पनीले ७१ अर्ब ४२ करोड २ लाख २३ हजार ४९६ रुपैयाँ बराबरको ५१ करोड ९ लाख ८१ हजार ९ सय ४६ कित्ता सेयर निष्काशनको लागि निवेदन दर्ता गरेको बोर्डले जनाएको छ ।

बोर्डले आइपिओ निष्काशनका प्रक्रियालाई ६ चरणमा वर्गीकरण गरेर अध्ययन गरिरहेको छ ।

पहिलो चरण

बोर्डका अनुसार पहिलो चरणमा प्राप्त आवेदनलाई राखिएको छ ।

यस चरणमा विभिन्न क्षेत्रका कुल ७६ वटा कम्पनीले ४० अर्ब ४८ करोड ४७ हजार ६ सय ९६ रुपैयाँ बराबरको २८ करोड ८ लाख २२ हजार ३ सय १३ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन् ।

यस चरणमा मारुती सिमेन्ट्स, ऋद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल्स, जगदम्बा स्टिल्स, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर, प्रभु हेलिकप्टर, माउन्ट ग्लोरी, विभिन्न हाइड्रोपावर, होटल तथा अन्य वित्तीय तथा उत्पादनमूलक क्षेत्रका कम्पनीहरू रहेका छन्।

दोस्रो चरण

बोर्डले दोस्रो चरणलाई प्रारम्भिक समीक्षाको चरण भनेर वर्गीकरण गरेको छ ।

यस चरणमा कुल ६ ओटा कम्पनी रहेका छन् । जसअन्तर्गत १ अर्ब ५४ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख १५ हजार ४ सय ८० कित्ता सेयर निष्काशनको लागि कम्पनीहरुको प्रारम्भिक अध्ययन र समीक्षा गर्नेछ ।

यस चरणमा एपेक्स मकालु हाइड्रोपावर, गौरीशङ्कर पावर, श्री डिस्टिलरी, एकामा होटल, जी.आई. सोलार र वर्णबास म्युजियम होटल रहेका छन्।

तेस्रो चरण

यस चरणलाई बोर्डले कम्पनीलाई प्रक्रिया र टिप्पणी पठाउने चरणको रूपमा राखेको छ । बोर्डले प्रारम्भिक अध्ययन र समीक्षापछि यस चरणमा आवश्यक कागजात र विवरण सच्याउन तथा थप स्पष्ट पार्न कम्पनीहरूलाई प्रतिक्रिया पठाउने जनाएको छ ।

यस चरणमा ४ ओटा कम्पनी लक्ष्मी टेक्नोप्लास्ट, महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट उद्योग र ज्यास्मिन पेन्ट्स रहेका छन्।

यिनीहरूको कुल ४ अर्ब ६ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको ४ करोड ६ लाख ८ हजार ८५७ कित्ता निष्काशनको लागि पखाईमा छन् ।

चौथो चरण

यस चरणलाई बोर्डले पठाएको प्रतिक्रिया तथा टिप्पणीको जवाफ प्राप्त भएको चरणको रुपमा राखिएको छ ।

उक्त चरणमा बोर्डले सोधेका प्रश्न र मागेका विवरणहरूको उत्तर कम्पनीले बुझाइसकेको हुन्छ । यस चरणमा १९ ओटा कम्पनी रहेका छन् ।

जसमध्ये डिस मिडिया नेटवर्क, हाम्स हस्पिटल, सौर्य सिमेन्ट, जगदम्बा स्टिल्स, बिशाल एग्रो, निलगिरी खोला हाइड्रोपावर, पिपुल्स इनर्जी, भगवती स्टिल्स लगायतका कम्पनीहरू छन्।

यस चरणमा १९ अर्ब ९० करोड ९१ लाख ४९ हजार रुपैयाँ बराबरको ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्काशन प्रक्रियामा छ ।

पाँचौँ चरण
बोर्डले मागेको र कम्पनीले पठाएको जवाफको समीक्षा यो चरणमा हुनेछ । बोर्डले समीक्षा गरिरहेको चरणमा हाल १० ओटा कम्पनी रहेका छन् ।

जसमा सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, रिचेत जलविद्युत, अन्नपूर्ण केवलकार, हिम रिभर पावर, सिउरी न्यादी पावर, हिल्टन हाइड्रो, म्याडम खोला, ह्याबिट्याट पावर र एनसी एग्रोटेक रहेका छन्।

यी कम्पनीले ५ अर्ब १९ करोड ४ लाख ७० हजार १०० रुपैयाँ बराबरको ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता सेयर निष्काशनको पर्खाइमा छन् ।

छैटौँ चरण
यो चरणमा अन्तिम समीक्षा हुने बोर्डले जनाएको छ । सबै कानुनी तथा नियमाकीय प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिको कम्पनीहरू छैटौँ चरणमा प्रवेश गर्नेछन् । यस चरणमा रहेका कम्पनीले छिट्टै आइपिओ निष्काशनको स्वीकृति पाउनेछन् ।

बोर्डका तथ्यांकअनुसार हाल यो चरणमा २ ओटा कम्पनी पुगेका छन् । आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर भेषज प्रयोगशाला अन्तिम चरणमा रहेका छन् । यी दुवै कम्पनीले छिट्टै आइपिओ निष्काशनको लागि अनुमति पाउने सम्भावना छ ।

आशुतोष इनर्जीले १ करोड २० लाख रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर आइपिओ निष्काशनको लागि आवेदन दिएको छ भने कान्तिपुर भेषज प्रयोगशालाले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता सेयर आइपिओ निष्काशनको लागि आवेदन दिएको छ ।