काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिएको छ ।
काउन्सिलद्वारा जारी विज्ञप्तिमा पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति समेत नलिई लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारहरूलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ ।
समाचार सामग्रीप्रति विमति भएमा कानुनी रूपमा समाधान खोज्ने आफ्नै स्थापित विधि र प्रक्रिया रहेको स्मरण गराउँदै काउन्सिलले विज्ञप्तिमा भनेको छ,“सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ ।”
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ । यदि कानुनी आधारविना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्न समेत प्रहरी प्रशासनसँग आग्रह गरिएको छ ।
विज्ञप्तिको अन्त्यमा काउन्सिलका प्रवक्ता दीपक खनालले प्रेस स्वतन्त्रताको रक्षा र मर्यादित पत्रकारिताको संवद्र्धनका लागि काउन्सिल सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै पत्रकारहरूलाई पनि आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेका छन्,“नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारविना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गर्दछ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दछ ।”



प्रतिक्रिया दिनुहोस्