कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कर्मचारीमाथि प्रहरी लगाएर दबाब दिने सरकारको शैलीप्रति आपत्ति जनाएका छन्। उनले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीमाथि भएको धरपकडलाई विधिको शासनविपरीतको कदम भन्दै आलोचना गरेका हुन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले कर्मचारीले गल्ती गरेको भए पनि स्थापित कानुनी संयन्त्रमार्फत अनुसन्धान र कारबाही हुनुपर्ने बताए।

उनले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनालाई आपत्तिजनक भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई छलेर प्रधानमन्त्री कार्यालयबाटै हुकुमी शैली अपनाउन नमिल्ने धारणा राखे।

‘कर्मचारीले कुनै गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, आधिकारिक निकायबाट विधिसम्मत अनुसन्धान गराउने हो,’ थापाले भने।

सरकारले प्रशासनिक मर्यादा र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै स्वेच्छाचारी बाटो रोजेको उनको आरोप छ।