काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) ०.४२ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इपिएस ५ पैसाले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोज मसान्तसम्म कम्पनीको ईपीएस ११ रुपैयाँ ९३ पैसा रहेको थियो ।
अधिकांश जीवन बीमा कम्पनीहरूको प्रतिशेयर आम्दानी खुम्चिरहेका बेला सानिमा रिलायन्स लाइफले भने आफ्नो इपिएसलाई सकारात्मक लयमा राख्दै सुधार गरेको हो । इपिएसमा सुधार आएसँगै कम्पनीको अन्य प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ३१.६३ गुणा कायम भएको छ ।
नाफा र व्यवसाय विस्तार
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १४ करोड ९६ लाख रुपैयाँको तुलनामा ०.४० प्रतिशतले बढी हो ।
व्यापार विस्तारतर्फ कम्पनीले उत्साहजनक प्रगति गरेको छ । असोजसम्म कम्पनीले २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क र २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क २३.२७ प्रतिशत र खुद बीमाशुल्क २३.१२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल र १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
कोष र पुँजीको अवस्था
५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जीवन बीमा कोषको आकार २८.५३ प्रतिशतले विस्तार भई २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ मात्र थियो ।
यसैगरी, असोज मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ६२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङ ३५ करोड ९८ लाख, महाविपत्ति कोष १८ करोड ५९ लाख र अन्य इक्विटी ८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्