पूर्वी डोनबास क्षेत्र रुसलाई छोडे युक्रेनलाई नेटो सदस्यता दिन सकिने अमेरिकी प्रस्ताव


काठमाडौँ । अमेरिकाले हालै भएको वार्ताका क्रममा युक्रेनलाई पूर्वी डोनबास क्षेत्र रुसलाई छोड्ने सर्तमा नेटो सदस्यता दिन सकिने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले अमेरिकी वार्ताकारहरूले यो विषय पहिलो पटक औपचारिक रूपमा उठाएको जानकारी दिए । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि डोनबास क्षेत्रमाथि दाबी गर्दै आएको र युक्रेनको सम्भावित नेटो सदस्यतालाई नै सन् २०२२ मा पूर्णस्तरीय आक्रमण सुरु गर्नुको मुख्य कारणका रूपमा प्रस्तुत गरेको उल्लेख गरे ।

हाल डोनबासको ठुलो भूभाग रुसको नियन्त्रणमा रहे पनि पछिल्लो समय उक्त क्षेत्रमा मस्कोको स्थल आक्रमण उल्लेखनीय रूपमा सुस्त बनेको छ । जेलेन्स्कीका अनुसार अमेरिकी पक्षले सोध्यो, “यदि युक्रेन नेटोमा सामेल भयो भने के उसले डोनबासबाट आफ्नो दाबी फिर्ता लिन्छ ?” उनले भने, “यो विषय पहिलो पटक उठाइएको हो ।”

यद्यपि उनले युक्रेनले आफ्नो भूमि त्याग नगर्ने स्पष्ट पारे तर यदि युक्रेनले बलियो सेना, नेटो तथा युरोपेली सङ्घका सुरक्षा प्रत्याभूति लगायतको व्यापक सुरक्षा प्याकेज प्राप्त गर्ने निश्चितता पायो भने त्यसबारे अन्तिम निर्णयका लागि जनताको राय लिइने बताए ।

“यदि अमेरिकी पक्षले अन्य नेटो साझेदारहरूसँग मिलेर यस्तै स्पष्ट प्रस्ताव ल्याउँछ भने म युक्रेनी जनतासँग सोध्नेछु – हामी स्वीकार गर्छौँ कि गर्दैनौँ ? त्यस्तो निर्णय एक्लै गर्ने अधिकार मसँग छैन,” उनले भने,“ तर अहिले हामीसँग कुनै ठोस विवरण छैन ।”

युक्रेनका लागि पूर्व अमेरिकी राजदूत विलियम टेलरले पनि नेटो सदस्यता युक्रेनले युद्धविराम स्वीकार गर्न सक्ने सबैभन्दा बलियो सुरक्षा ग्यारेन्टी हुन सक्ने बताएका छन् तर उनले नयाँ सदस्यलाई नेटोमा भित्र्याउन सबै सदस्य राष्ट्रको सर्वसम्मति आवश्यक पर्ने भएकाले अमेरिका मात्रैले यस्तो प्रतिबद्धता दिन नसक्ने स्पष्ट पारे ।

“अधिकांश सदस्य राष्ट्र सहमत हुन सक्छन् तर केही राष्ट्रले असहमति जनाउन पनि सक्छन्,” टेलरले भने, “त्यसैले यो अहिलेको अवस्थामा निश्चित प्रस्ताव होइन ।”

अमेरिका मध्यस्थ रहेको युक्रेन–रुस शान्ति वार्ता मङ्गलबार र बुधबार संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर तथा मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफको पहलमा भएको उक्त त्रिपक्षीय वार्ता पछिल्ला केही महिनायता दुवै पक्ष सहभागी भएको पहिलो वार्ता भए पनि कुनै ठोस प्रगति हुन सकेन ।

वार्तापछि कुशनर र विटकफले छुट्टाछुट्टै रूपमा राष्ट्रपति जेलेन्स्की र राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गरेका थिए ।