काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरुले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय ९रास्वपा०का प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरुलाई ब्रिफिङ गरेको जानकारी दिए । उनले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताए ।
उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत बताए । उनकाअनुसार छलफलमा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च घटाउन आवश्यकताका आधारमा संविधान एवं कानूनमा सुधार गर्नुपर्नेमा आयोगले जोड दिएको समेत बताए।
उनले भने, ‘निर्वाचनको कुनैपनि क्रियाकलाप हुँदा संविधानको भावनाविपरित हुनुहुँदैन भन्ने कुरामा सबै दलहरु सहमत भएका छन् । त्यसकारण संवैधानिक, आर्थिक, प्राविधिक र राजनीतिक पाटोबाट राष्ट्रिय र राजनीतिक सहमतिको आधारमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेकुरामा सबैको जोड छ । यो कुरामा दलहरुबीच सहमति हुनुको साथै आयोगलाई समेत, स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्ने कुरा भएको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरुबीच छलफल गरेर मिति तय होला । अनि निर्वाचनमा बदर मत घटाउनको लागि प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड छ ।’
उहाँले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत अगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा मताधिकार दिनुपर्ने कुरा राखेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्