अर्थ मन्त्रालयमा पाँच सहसचिव भित्रिए,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ढकालको सरुवा


काठमाडौँ । सरकारले ३२ जना सहसचिवको सरुवा तथा कामकाज खटाउँदा अर्थ मन्त्रालय मातहत पाँच जना सहसचिव भित्रिएका छन् भने दुईजना बाहिरिएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय, प्रदेश र स्थानीय तहमा कार्यरत पाँच सहसचिवलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार परराष्ट्र मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव तारानाथ अधिकारी अर्थ मन्त्रालय आएका छन् । भारतको इकोनोमिक मिनिस्टरको दरबन्दी काटिएपछि फिर्ता भएका अधिकारी अर्थ मन्त्रालयमा भित्रिएका हुन् ।

उनी यसअघि सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक जिम्मेवारी सम्हालिसकेका छन् । यसपटक उनलाई फेरि अर्थ मन्त्रालय फर्काएको हो । वेइजिङ्मा इकोनोमिक मिनिस्टर रहेकी पार्वती अर्याललाई पनि अर्थ मन्त्रालय ल्याएइएको छ । अधिकारीसँगै अर्याल पनि दरबन्दी कटौती भएपछि फर्किएकी थिइन् ।

सम्पत्ति शुद्धीरकण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिका सुरुवा गरिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरणका ठुला मुद्दा दर्ता गरेका ढकाललाई स्थानीय तहमा पठाइएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कार्यरत नीता शर्मालाई पनि सङ्घीय सरकारको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

विभिन्न जिल्लामा सिडियो भएर काम गरेका इन्द्र देव यादव र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वलीलाई पनि अर्थ मन्त्रालय मातहत ल्याइएको छ ।

अर्थ मन्त्रालयमा पाँच सहसचिव भित्रिँदा महानिर्देशक ढकालसँगै सहमहालेखा नियन्त्रक दीपक लामिछानेलाई गृह मन्त्रालय मातहत सरुवा गरिएको छ ।