४७.१ मेगावाटको गुराँस हाइड्रो आयोजना ५० प्रतिशतभन्दा बढी सम्पन्न,प्रभावित ४२२ परिवारलाई संस्थापक सेयर


काठमाडौँ । संखुवासभा र भोजपुर जिल्लामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको हेडवक्र्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । सङ्खुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत् गृहमा पुर्‍याइने आयोजना संरचना रहेको छ ।

विद्युत् गृह भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ । उत्पादित विद्युत् अरुण नदीमा छोड्ने गरी आयोजना संरचना तयार पारिएको छ ।

सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाले पूर्वी नेपालमा ऊर्जा उत्पादनसँगै स्थानीय विकास र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रभावित परिवारलाई संस्थापक सेयर
आयोजनाबाट प्रभावित क्षेत्रका ४२२ परिवारलाई न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको छ । गुराँस हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आज आयोजित एक समारोहबिच प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले आयोजना स्थानीय क्षेत्रका साथै समग्र देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए ।

उनले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय तथा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहयोग र सहकार्यले आयोजना अघि बढाउन सहज भएको बताए ।

निर्माणमा करिब ७०० जनाको संलग्नता
आयोजना निर्माणमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय तथा नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जनाको संलग्नता रहेको जनाइएको छ ।

५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले आगामी दिनमा निर्माणलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने दिशामा काम अघि बढाइरहेको छ ।

४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो आयोजना सञ्चालनमा आएपछि संखुवासभा र भोजपुरको ऊर्जा विकास, स्थानीय अर्थतन्त्र तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।