बालुवा–गिट्टी कुटेर बाल्यकाल बिताएको झुप्रा खोलामा शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी


काठमाडौँ। बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छिन्।

शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन्।

कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको त्यही ठाउँमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनेकी छिन् ।

उनले यो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेका सङ्घर्ष र स्थानीयले अहिले पनि भोगिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसमक्ष पुर्‍याउने अवसर भएको बताइन्।

छलफलका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या प्रमुखताका साथ उठेका थिए।

खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको बताएका थिए।

पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको स्थानीयले सुनाएका थिए।

भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराइन् ।

त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन्।

तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो।

आफ्नै विगत र जन्मभूमिको अवस्थालाई स्मरण गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनसँग जोडिँदा मात्र सार्थक हुने बताइन् ।

आफ्नो विगत कहिल्यै नबिर्सी त्यही सङ्घर्षबाट सिकेको अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता छ । झुप्रा खोलाका हरेक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग जोडिएका स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्।

बाल्यकालमा अभाव र सङ्घर्ष भोगेको बस्तीमा फर्केर स्थानीयका समस्या समाधानका लागि दुई मन्त्रीबिच प्रत्यक्ष छलफल र समन्वय गराउने उनको यो पहल जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति रहेको थियो।