सरकारले भुक्तानी नदिएसम्म निर्माण उद्योग चलायमान हुँदैन : अध्यक्ष सिंह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा रहेको बताएका छन् ।

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले सरकारले समयमा भुक्तानी नगर्दा नेपालको निर्माण उद्योग यति बेला कोमा रहेको बताए ।

उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नहुँदा निर्माण उद्योग अगाडि बढ्न नसकेको गुनासो गरे ।
सिंहले भने, ‘सरकारले भुक्तानी दिन सकेको भए दशैंपछि पूर्वाधार निर्माण चलायमान हुनु पर्ने थियो तर अहिले निर्माण उद्योग सिथिल अवस्थामा पुगेको छ। सरकार निर्माण व्यवसायीहरुको माग प्रति गम्भिर नहुँदा निर्माण क्षेत्र चलायमान बन्न सकेन ।’

पूर्वाधार निर्माण क्षेत्रमा काम गर्ने सरकारी निकायहरुमा समन्वय गर्न नसक्दा निर्माण उद्योग धरासाही भएको उल्लेख गर्दै सिंहले अहिले निर्माण उद्योग ध्वस्त भएको बताए ।

उनले भने,‘ निर्माण क्षेत्रका मुल समस्या भनेको सरकारले अघि सारेका आयोजनाहरु निर्माणमा स्रोत सुनिश्तिता गर्नुपर्छ । सरकारले त्यसको लागि काम गर्नु जरुरी छ । सरकारले निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानी पाउन सकिएको छैन ।’

उनले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि सरकारले निर्माण उद्योगलाई दिनु पर्ने भुक्तानी तत्काल दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्माण उद्योगीहरुलाई तत्काल भुक्तानी गर्न नसके निर्माण उद्योग चलायमान हुन नसक्ने बताए ।

स्रोत सुनिश्चिता नभएका आयोजनाहरु सबै खारेज गर्न आवश्यक रहेको बताउँदै सरकारले अघि सार्ने परियोजनाहरु स्रोत सुनिश्चिता भएकालाई मात्रै प्राथमिकता दिएर काम गर्नुपर्ने सुझाव दिए ।

उनले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनका कारण म्याद थप भएका ४ हजार बढी आयोजनाहरु प्रभावित भएको बताए ।