कीआईआईटीद्वारा नेपाली विद्यार्थी प्रकृति लम्सालको सम्झनामा छात्रवृत्ति घोषणा


काठमाडाैँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको हाे ।

कीआईआईटीका संस्थापक प्रो.अच्युत सामन्तले प्रकृति लम्सालका पिता र काकासँग भेट गर्दै उनको सपनालाई निरन्तरता दिने आश्वासन दिएका छन्। प्रकृतिको सम्झनामा तथा उनका पिताको इच्छाअनुसार, कीआईआईटीले नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको हाे। यस छात्रवृत्तिले नेपालका होनहार विद्यार्थीहरूलाई आर्थिक अवरोधबिना अध्ययनको अवसर प्रदान गर्ने संस्थाकाे विश्वास छ ।

प्रो. सामन्तले नेपाल सरकारका परराष्ट्रमन्त्री र गृह मन्त्रीसँग टेलिफोन संवाद गर्दै यस विषयमा भएका कदमहरूको जानकारी गराएका थिए। साथै, उनले नेपाल राजदूतावासका काउन्सिलरहरूसँग पनि भेटवार्ता गरेका छन्।