काठमाडौँ । मधेश प्रदेशमा खडेरीका कारण ठूलो संख्यामा किसानहरूले धान रोप्न नपाउँदा समस्या सिर्जना भएको छ। यसै सन्दर्भमा संघीय सरकारले खडेरी पीडित किसानहरूका लागि विशेष राहत कार्यक्रम ल्याउने तयारी गरेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार मधेश प्रदेशलाई प्रदेश सरकारले पहिले नै सुख्खा क्षेत्र घोषणा गरिसकेको अवस्थामा संघीय सरकारले पनि राहतका कार्यक्रम ल्याउन लागेको हो।
आज बिहान ११ बजेपछि बस्ने मन्त्रिपरिषद् बैठकले मधेशका किसानहरूका लागि महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। मन्त्री अधिकारीले नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै भने, “खडेरीका कारण किसानहरूले धान रोप्न पाएनन्। खाद्यान्न संकटको सम्भावना देखिएको छ। त्यसैले संघीय सरकारले विशेष कार्यक्रम ल्याउनु आवश्यक छ भन्ने प्रस्ताव मैले मन्त्रिपरिषद्मा राखेको छु।”
खडेरीको प्रत्यक्ष असरले उत्पादनमा गम्भीर प्रभाव पर्ने देखिएको छ। यसले खाद्यान्न संकट निम्त्याउने अनुमान गरिँदैछ। कृषकहरूलाई राहत पुर्याउने र आगामी वर्षका लागि पूर्वतयारी मिलाउने उद्देश्यले संघीय सरकारको विशेष पहल हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस्