काठमाडौं । अझै ४० प्रतिशत नेपालीहरू औपचारिक बैंकिङ पहुँच बाहिर रहेको विश्व बैंकले बताएको छ ।
बैंकले हालै सार्वजनिक गरेको ग्लोबल फिन्डेक्स २०२५ को नवीनतम प्रतिवेदनअनुसार विगत एक दशकमा औपचारिक खातामा पहुँच दोब्बर भए पनि ४० प्रतिशत नेपाली बैंकिङ पहुँच बाहिर छन्।
ग्लोबल फिन्डेक्स २०२५ का अनुसार, २०२४ सम्ममा नेपालको कुल खाता स्वामित्व ६० प्रतिशत मात्र छ, यो दक्षिण एसियाको औसतभन्दा कम हो । दक्षिण एसियाको औसत ७७.६ प्रतिशत र निम्न-मध्यम आय समूहको औसत ७०.४ प्रतिशत रहेको छ ।प्रतिवेदनअनुसार सन् २०११ मा २५.३ प्रतिशत वयस्कहरूको औपचारिक खातामा पहुँच रहेकोमा सन् २०२४ सम्म ६०.प्रतिशत पुगेको हो ।
बैंक खाता दर | नेपाल (%) | दक्षिण एसिया (%) | तल्लो मध्यम आय (%) |
सबै वयस्क, २०२४ | 60 | 77.6 | 70.4 |
सबै वयस्क, २०२१ | 54 | 68 | 62.1 |
सबै वयस्क, २०११ | 25.3 | 32.2 | 30.5 |
प्रतिवेदनअनुसार नेपालमा अझै पनि १७ प्रतिशत वयस्कहरूले उच्च सेवा लागत र १२ प्रतिशतले वित्तीय संस्था टाढा हुनुलाई औपचारिक खाता नहुनुको प्रमुख कारण बताएका छन् ।
प्रतिवेदनले खाता पहुँचमा विपन्न र ग्रामीण जनसंख्यामा गहिरो क्षेत्रीय असमानता औँल्याएको छ। नेपालको सबैभन्दा विपन्न ४ प्रतिशत जनसंख्याको खाता पहुँच दर ५३ मात्र छ, जुन क्षेत्रीय औसत ७३.३ प्रतिशतभन्दा निकै कम हो । पछिल्ला वर्षहरूमा अन्य दक्षिण एसियाली देशहरूले डिजिटल वित्तीय क्रान्ति मार्फत समावेशीकरणमा तीव्र गति लिए पनि नेपालको वृद्धिदर तुलनात्मक रूपमा सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार खातामा पहुँच भए पनि ती खाताहरूलाई डिजिटल रूपमा प्रयोग गर्न सक्ने क्षमतामा नेपाल धेरै पछाडि छ। नेपालमा मोबाइल मनी खाता भएका वयस्कहरूको अनुपाल १०.६ प्रतिशतमात्र छ ।
नेपालको १७.६ प्रतिशत वयस्कहरूसँग मात्र ‘डिजिटल रूपमा सक्षम खाता’ (डेबिट कार्ड वा फोन प्रयोग गरी कारोबार गर्न सकिने खाता) रहेको प्रतिवेदनमा उल्लेख छ, जुन क्षेत्रीय र निम्न-मध्यम आय समूह औसतको तुलनामा लगभग आधा हो । यसले नेपालमा खोलिएका धेरै खाताहरू निष्क्रिय रहेको वा परम्परागत नगद कारोबारका लागि मात्र प्रयोग भइरहेको देखाउँछ ।
प्रतिवेदनमा नेपालमा ३७.४ प्रतिशत वयस्कहरूले विगत वर्षमा कुनै न कुनै रूपमा बचत गरेको बताए पनि नेपालको औपचारिक वित्तीय संस्था वा मोबाइल मनीमा बचत गर्ने दर २०.८ प्रतिशत मात्र रहेकाे उल्लेख छ ।
अनौपचारिक माध्यमहरू (बचत क्लब वा परिवार बाहिरको व्यक्ति) मार्फत बचत गर्ने नेपाली वयस्कहरूको हिस्सा १३.५ प्रतिशत छ ।
यसैगरी नेपालका ७०.४ प्रतिशत वयस्कहरूले विगत वर्षमा कुनै न कुनै स्रोतबाट ऋण लिएको उल्लेखगरे पनि औपचारिक वित्तीय संस्था (बैंक, क्रेडिट कार्ड वा मोबाइल मनी) बाट ऋण लिने वयस्कहरूको प्रतिशत केवल १६.४ प्रतिशतमात्र छ ।
सूचक | नेपाल (% ) | दक्षिण एसिया (% ) | निम्न-मध्यम आय (% ) | कैफियत |
कुल खाता स्वामित्व (२०२४) | ६०.०% | ७७.६% | ७०.४% | नेपाल पहुँचमा क्षेत्रीय औसतभन्दा १७.६ प्रतिशत बिन्दुले पछाडि। 1 |
मोबाइल मनी खाता | १०.६% | २१.९% | २४.४% | मोबाइल वित्तीय क्रान्तिमा नेपालको योगदान कमजोर। 1 |
डिजिटल भुक्तानी प्रयोग (२०२४) | २८.१% | ४४.२% | ४७.३% | उच्च डिजिटल पूर्वाधार भए पनि खुद्रा उपयोगितामा ठूलो खाडल। 1 |
स्मार्टफोन स्वामित्व | ५६.७% | ४०.८% | ५०.०% | नेपाल कनेक्टिविटीमा क्षेत्रीय रूपमा धेरै अगाडि। 1 |
अनौपचारिक/औपचारिक ऋण (जम्मा) | ७०.४% | ६४.७% | ६२.४% | नेपालमा ऋण लिने प्रवृत्ति उच्च। 1 |
वित्तीय लचिलोपन (३० दिनमा पैसा जुटाउन गाह्रो नहुने) | ५१.५% | ३१.४% | ४०.६% | नेपालको लचिलोपन क्षेत्रीय र आय समूहको तुलनामा धेरै बलियो। 1 |
प्रतिक्रिया दिनुहोस्