आगामी निर्वाचनको लागि एक सातामै दर्ता भए ५६ ओटा पार्टी


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका दलको संख्या ५६ पुगेको छ। दर्ता मंसिर १० गतेसम्म खुला रहने अवस्थामा आइतबार मात्रै १६ दल थपिएका छन्।

पहिलो दिन मंसिर १ गते १२ दल दर्ता भएका थिए भने दोस्रो दिन ५, तेस्रो र चौथो दिन ८–८, पाँचौँ दिन ७ र सातौँ दिन आइतबार १६ दल दर्ता हुँदै संख्या ५६ पुगेको हो।

निर्वाचन आयोगका अनुसार आइतबार दर्ता भएका दलहरूमध्ये नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टी नेपाल रहेका छन्।

यसैबीच माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि अहिलेसम्म १३ दल दर्ता भइसकेका छन्। राष्ट्रिय सभाका लागि दर्ता मंसिर ७ गतेसम्मको म्याद तोकिएको छ।

पहिलो दिन ३ दलदेखि सुरु भएको दर्ता क्रम दोस्रो दिन १, तेस्रो दिन २ र पाँचौँ दिन २ दल पुगेको थियो भने सातौँ दिन आइतबार ४ दल दर्ता भएपछि कुल संख्या १३ पुगेको हो।

दुवै निर्वाचनका लागि दर्ता संख्या तीव्र गतिमा बढिरहेको आयोगको भनाइ छ। यो वृद्धि आगामी निर्वाचनमा राजनीतिक प्रतिस्पर्धा झनै व्यापक र विविध हुँदै गएको संकेतका रूपमा विश्लेषण गर्न सकिन्छ।

नयाँ तथा साना राजनीतिक समूहहरूले वैधानिक उपस्थिति सुनिश्चित गर्न दर्ता प्रक्रियामा सक्रियता बढाएको आयोगको मूल्यांकन छ।