काठमाडौँ । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ।
हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने बागमती नदीका ५ स्थानहरू गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा जम्मा ६ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरी ट्रास बेरियर राख्ने काम धमाधम भइरहेको छ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरू रोक्ने र एक निश्चित स्थानमा जम्मा गर्ने काम गर्छ। काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा फोहोर बग्ने गरेको पाइएपछि, ट्रास बेरियर जडानले नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न मद्दत पुग्ने छ।
संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित व्यवस्थापन गर्न सकिने भएकोले, यसले नदी प्रदूषण न्यूनीकरण गर्न, नदीको सौन्दर्य कायम राख्न, जलजीवको संरक्षण गर्न र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ट्रास बेरियरमा रबरको कन्भेयर बेल्ट र तैरिने भाग जडान गरिएको छ, जसले पानीको सतहको घटबढसँगै ट्रास बेरियरलाई आफै तलमाथि गर्न सक्ने बनाएको छ।



प्रतिक्रिया दिनुहोस्