अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव, अहिलेसम्म के के भयो ?


काठमाडाैँ । अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ ।

इरानले पनि मध्यपूर्वका विभिन्न मलुकमा रहेका अमेरिकी सैनिक बेसहरूमा आक्रमण गरेको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमाथि इरानले फर्काएको जवाफलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले ‘आश्चर्यजनक’ भनेका छन् ।

इरानको छिटो र आक्रमण प्रत्याक्रमणले मध्यपूर्वमा तनाव बढेको हो । मध्येपूर्व नेपालीहरूको रोजगारीको मुख्य गन्तव्य समेत हो ।

स्थानीय समयअनुसार आज बिहान ९ः२७ बजेतिर इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध विष्फोट भएको इरानको फार्स समाचार एजेन्सीको रिपोर्टमा उल्लेख छ ।

इजरायलले सबैभन्दा पहिले इरानभित्रका लक्ष्यहरूमा मिसाइल आक्रमण सुरु गरेको घोषणा गरेको थियो । लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारबाहीबारे जानकारी दिँदै यसलाई ‘विशाल र जारी’ रहेको उल्लेख गरे । यो संयुक्त कारबाहीलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको छ ।

अमेरिका र इजरायलले तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा, साथै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सको मुख्यालय नजिकै रहेका स्थानहरूमा मिसाइल आक्रमण गरेका थिए ।

इरानको राजधानीमा भएको एक आक्रमण सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको कार्यालय नजिकै थियो । तेहरानको उत्तरी सेययद खन्दन क्षेत्रमा पनि विस्फोट भएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, कर्मीन्शाह, कुम, तब्रिज, इस्फहान, इलाम र करज शहरहरूमा, साथै लोरेस्तान प्रान्तमा पनि विस्फोट भएका थिए । आक्रमणको क्षति अझै स्पष्ट हुनसकेको छैन । अमेरिका र इजरायलको आक्रमण लगत्तै इरानले प्रत्याक्रमण सुरु गरेको थियो ।

इरानले पहिलो चरणमा इजरायलतर्फ मिसाइल प्रहार गरेर प्रतिकार सुरु गरेको थियो ।

इरानको प्रतिकारसँगै इजरायलका विभिन्न भागमा साइरन बजेको थियो । उत्तरी इजरायलमा विस्फोट भएको थियो । केही समयमै, इरानी सेनाले मध्यपूर्वमा रहेका अमेरिकाका सैन्यबेसलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको थियो ।

इरानले कतारको अल उदैद एयरबेस, कुवेतको अल–सालेम एयरबेस,संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा एयरबेस,बहराइन स्थित सैन्य बेसमा मिसाइल आक्रमण गरेको थियो । साउदी अरबको रियादमा पनि विस्फोटका आवाज सुनिएका थिए ।

इरानको स्कुलमा इजरायली आक्रमणमा मारिने विद्यार्थीको सङ्ख्या २४ पुगेको छ ।

यससँगै आक्रमणमा इरानमा मारिनेको सङ्ख्या ४० पुगेको छ । इजरायली आक्रमणले दक्षिण इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरको एक विद्यालयका २४ विद्यार्थीको मृत्यु भएको छ ।