संग्रौलाद्वारा नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाल फ्रेट फरवाडर्रस एसोसिएसन(नेफा)का अध्यक्ष राजेन्द्र संग्रौलाले नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

संग्रौलाले यही चैत २९ गर ३० गते साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

युनिक फ्रेट इन्टरनेसनल प्रा.लि. र एन.के.एन होल्डिङ्गस् प्रा.लि.को निर्देशक रहेका संग्रौला नेपाल ईन्टरमोडल यातायात विकास समितिको सञ्चालक समिति सदस्य छन् ।

निर्यात व्यवसायी महासङ्घ नेपालको कार्यकारिणी समिति सदस्य रहेका संग्रौला नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको कार्यकारिणी समिति सदस्य हुन् ।

नेपाल भन्सार विभागको भन्सार उपसमिति सदस्य र नेपाल उद्योग वाणिज्य महासङ्घको मेला उपसमितिका सदस्यको जिम्मेवारीमा संग्रौला छन् ।

नेपालको लजिस्टिक्स शुल्क घटाउने तथा सहज कर प्रणालीका लागि निरन्तर पहल गर्ने, आयात निर्यातको सहजिकरणका लागि नेपालको कमजोर लजिस्टिक पूर्वाधारलाई सुधार्न र सरकारसँग प्रभावकारी लजिस्टिक नीति निर्माणमा थप पहल गर्ने, मालसामानको बहुविधिक ढुवानी ऐन संसोधन तथा यस क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने विभिन्न ऐन बनाउन सरकारलाई दबाब दिने लगायतको भूमिका गर्ने संग्रौलाको प्रतिबद्धता छ ।

उनले भने,“मेरो यो क्षेत्रमा तीन दशकदेखिको अनुभव छ । फ्रेट फरवार्डिङ, अन्तर्राष्ट्रिय ढुवानी, कस्टम क्लियरिङ, सप्लाई चेन व्यवस्थापन लगायतका विधि क्षेत्रमा भएको अनुभवलाई महासङ्घमा प्रयोग गर्ने छु ।”