बाढीपीडितका लागि राहत पठाउँदा ठगीबाट जोगिन सचेत रहन आग्रह


भर्जिनिया। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै निजी आवास, सरकारी भवन, विद्यालय र १० वटा जलविद्युत् आयोजना ध्वस्त भएको अवस्थामा अमेरिकास्थित नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सहायता संकलनलाई तीव्र पारेका छन्।
संकटको यस घडीमा विपद्को फाइदा उठाउँदै हुनसक्ने सम्भावित ठगी र बिचौलियाको घुसपैठप्रति सचेत गराउँदै अमेरिकी नियामक निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) र वासिङ्टनस्थित नेपाली दूतावासले भने नेपाल सरकारको आधिकारिक कोष वा प्रमाणित माध्यमबाट मात्र सहयोग रकम पठाउन विशेष अपिल गरेका छन्।
अमेरिकी निकाय एफटीसीले प्राकृतिक विपद्का बेला नक्कली च्यारिटी खडा गरी रकम हडप्ने गिरोह सक्रिय हुने भएकाले दाताहरूलाई सजग रहन चेतावनी दिएको छ। एफटीसीका अनुसार सामाजिक सञ्जालमा देखिने अप्रमाणित खाता, नगद, गिफ्ट कार्ड, वायर ट्रान्सफर वा क्रिप्टोकरेन्सीमार्फत मात्र रकम माग्ने संस्था वा व्यक्तिहरू ठगीमा संलग्न हुन सक्ने भन्दै सचेत बनाएको हो।
यसअघि २०७२ सालको भूकम्पमा अमेरिकामा राहत संकलनका नाममा भएको ठगीलाई स्मरण गर्दै नेपाली समुदायका अगुवाहरूले पनि यसबारे सावधानीका लागि अनुरोध गरेका छन्।
‘ग्लोबल फेमिली फाउन्डेसन’ की राजश्री श्रेष्ठले भनिन्- यसअघिका ठगीबा६ सावधान रहँदै औपचारिक माध्यमबाट मात्र सहयोग पठाउँदा सही ठाउँमा पुग्छ ।
राहत जुटाउने क्रममा अमेरिकाको भर्जिनियास्थित स्टर्लिङमा हालै आयोजित एक कार्यक्रममा दक्षिण एसियाली मूलका अमेरिकीहरूद्वारा सञ्चालित ‘बिदेश फाउन्डेसन’ र नेपाली संस्था ‘ग्लोबल फेमिली फाउन्डेसन’ ले संयुक्त रूपमा १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।
राजश्री श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा बाढीले पुर्‍याएको क्षति र उद्धारको अवस्थाबारे जानकारी गराइएको थियो।
बंगलादेशका प्राकृतिक प्रकोप पीडित तथा महिला-बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बिदेश फाउन्डेसनका अध्यक्ष मीर अली र कार्यकारी प्रमुख सहेल अहमदले संकलित रकम चाँडो भन्दा चाँडो नेपाल पठाउने प्रतिबद्धता जनाए।
सो अवसरमा ग्लोबल फेमिली फाउन्डेसनका सुरेश सापकोटाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग पठाउन पारदर्शी हुने विश्वास दिलाएका थिए भने सहभागीहरूले राहत वितरणमा प्रभावकारिता ल्याउन प्रभावित क्षेत्रका स्थानीय सरकारहरूसँग प्रत्यक्ष समन्वय गर्नुपर्ने सुझाव दिए।
यसैगरी, न्युयोर्कका नेपाली सञ्चारमाध्यम ‘खसोखास’ र ‘नेपयोर्क’ ले ज्याक्सन हाइट्स तथा क्विन्स क्षेत्रका दुई दर्जनभन्दा बढी स्थानीय व्यवसायहरूमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक क्यूआर कोडसहितका पोस्टर टाँसेर बिचौलियामुक्त अभियान चलाएका छन्।
अर्कातर्फ वासिङ्टन डिसीस्थित नेपाली दूतावासले अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रका बाढीपीडितका लागि सहयोग गर्दा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘विपद् उद्धार कोष’ नाममा रहेका बैंक खाता र क्यूआर कोडको आधिकारिकता रुजु गरेर मात्र रकम पठाउन आग्रह गरेको छ।