इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोलोजी सर्भिस अवार्ड


काठमाडौं । इन्ग्रेल्स प्राइभेट लिमिटेडले वर्ल्ड इन्फरमेसन टेक्नोलोजी सर्भिस अलाएन्स(विट्सा) ग्लोवल आईसीटी एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । कम्पनीले ‘डिजिटल अपरचुनिटी÷इन्क्लुजन अवार्ड’ विधा अन्तर्गत ‘मेरिट अवार्ड’ प्राप्त गरेको हो ।

वेद स्कूल सफ्टवेयरमार्फत ‘ई–इजुकेशन एण्ड लर्निङ अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) वर्गमा मनोनित भएको कम्पनिले उक्त अवार्ड हात पारेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘बीटुबी–आईसीटी बिजनेस समिट–२०२१’ मार्फत कम्पनीलाई अवार्ड प्रदान गरेका हुन् ।

ढाकामा सम्पन्न ‘२०२१ वर्ल्ड कंग्रेस अन आईटी’ को भर्चुअल कार्यक्रममा अन्य विधा सहित यो अवार्ड नोभेम्बर १३ घोषणा गरिएको थियो । विट्साले अष्ट्रेलिया, दक्षिण अफ्रिका, क्यानाडा, मलेसिया सहित विभिन्न ८० भन्दा बढी देशबाट उत्कृष्ट प्रभावशाली तथा नवीन व्यवसायहरुबाट छनोट गरि विजेता घोषणा गर्दै आएको छ ।

विट्सा ग्लोवल आईसीटी एक्सिलेन्स अवार्डले विश्वभरको ९० प्रतिशत आइसिटी बजारलाई समेट्ने जनाइएको छ । वेद स्कुल सफ्टवेयरले विद्यालय तथा कलेजहरुलाई डिजिटल रूपान्तरण गर्न एकिकृत प्रणाली उपलब्ध गराउँदै आएको छ ।

शिक्षालाई डिजिटल रुपमा पूर्ण स्वचालित गर्ने योजनाका साथ कम्पनिले सन् २०१५ देखि समान अवसर तथा सहज पहुँच युक्त शिक्षा प्रणाली विकास गरि उपलब्ध गराउँदै आएको छ । यस प्रणालीमा हाल सात सय भन्दा बढी शैक्षिक संस्था जोडिएका छन् ।

जसमार्फत प्रशासनिक तथा लेखा साथै अनलाइन कक्षा सञ्चालन, गृहकार्य व्यवस्थापन र अनलाइन परिक्षा जस्ता फिचर उपलब्ध रहेको कम्पनिले जनाएको छ ।