किंग्स् कलेजका विद्यार्थीद्धारा शिल्पीमा नाटक मञ्चन


काठमाडाैं । काठमाडाैं स्थित किंग्स् कलेजले विद्यार्थीहरुमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा त्रयम् शिर्षकको नाटक मञ्चन गरिरहेको छ ।

महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।

कलेजका विद्यार्थीहरुद्धारा मञ्चित यस नाटकले आलंकारीकरुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनीधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्था र सोमा परिवर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनीधित्वलाई नाटकले खास जोड दिएको छ ।

व्यावसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत व्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परिक्षण गर्नको लागि यस अवधारणालाई अगाडी सारिएको नाटक संयोजक दिक्षित भट्ट बताउँछन् ।

त्यसो त कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको बिबिए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।

कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय–मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरुलाई व्यापारव्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराइ ब्यवसायिक जीवन सफल बनाउन सिकाउने उदेश्य राखी बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

“हामीले सुरुमा यसै नाटकलाई मोड्युलको रुपमा बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइनका विद्यार्थीहरुलाई अध्ययन गरायांै र सोपश्चात सोही नाटकको मञ्चन गराइ विद्यार्थीहरुमा कलाप्रति अभिरुची जगाउने प्रयास गरेका छाैं ।,” प्राद्यानाध्यापक अर्यालले भने ।

त्यसोत हाल रुची एवं शौखको रुपमा मात्र सिमित कलाको क्षेत्रलाई ब्यवसायिक दिशा दिन पनि यस पहलले योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

भोली (जेष्ठ २६ गते) अन्तिम प्रदर्शनी हुने यस नाटकलाई हालसम्म करिब ५०० जनाभन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।