‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पु¥याउने हेतुले पुरस्कार प्रदान गर्ने नाफिजले जनाएको छ । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्नेछ ।

यो वर्षको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

दुई संस्थाले भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्नेतर्फ प्रयासरत रहने पनि बताएका छन् ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिन बैंक तथा वित्तीय संस्थामात्र नभएर समस्त अर्थतन्त्रको हितमा काम गर्न स्थापना भएको जानकारी दिए ।

उनले सिबिफिन नाफिज बैंकिङ पत्रकारिता पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिन हौसला मिल्ने दाबी गरे । गोल्यानले नाफिजसँगको सहकार्यलाई भविष्यमा अझै मजबुद बनाउँदै पुरस्कारलाई निरन्तरता दिन अक्षय कोष खडा गर्न सकिने आशा व्यक्त गरे ।

नाफिजका अध्यक्ष ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरे । अर्थतन्त्रमा मिडियाको भुमिका निजी क्षेत्रको प्रबद्र्धन सँगै लगानीको वातावरण बनाउँदै आर्थिक वृद्धिमा टेवा दिने भएको जिकिर गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरूको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न पुरस्कारले महत्वपूर्ण खेल्ने बताए ।