एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत


काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न भन्दै एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ ।

डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबि बैंक र डीएफसीबिचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएफबी बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरूप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ ।”

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागि डीएफसी सहित हालसम्म नौ डेभलपमेण्ट फाइनान्सियल इन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।