‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि:धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइने


काठमाडौँ । सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ ।

बिहिबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत कृषि विभागका महानिर्देशक डा। हरि बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले धान दिवस तथा रोपाईँ महोत्सवको नारा सार्वजनिक गरेको हो ।

धानको उत्पादन वृद्धि एवं आधुनिकरण र व्यवसायिकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि।सं। २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतिमा बढ्दो नकरात्मक असरलाई न्यूनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार प्रसार गरि तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरू सचेत र जागरुक बनाइ धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिने बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

यस वर्षको २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको उपलक्ष्यमा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा। बेदुराम भुसाल प्रमुख आतिथ्यतामा सरोकारवालाहरू र स्थानीय कृषकहरूको सहभागितामा धान रोपाईं गरि राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइने कार्यक्रम रहेको छ ।

त्यसैगरि प्रधानमन्त्री र कृषि मन्त्रीको सन्देश प्रकाशन एवं प्रसारण, पत्रकार भेटघाट कार्यक्रम, टेलिभिजन परिसम्बाद लगायतका क्रियाकलापहरू पनि संचालन गरिने २० औं राष्ट्रिय धान दिवस मूल समारोह समितिले जनाएको छ ।