राप्रपा नेपालद्वारा बृहत् मोर्चाको प्रस्ताव,वार्ताका लागि ३ सदस्यीय वार्ता टोली


काठमाडौँ । राप्रपा नेपालले राष्ट्रवादी,देशभक्त र प्रजातन्त्रवादी सबैको बृहत राष्ट्रिय मोर्चा निर्माणको प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र,हिन्दु राष्ट्र, सुशासन र समृद्धी सहितको परिवर्तनका लागि भन्दै राप्रपा नेपालले वृहत मोर्चाको प्रस्ताव गरेको हो ।

राप्रपाले मोर्चा निर्माणका लागि तत्काल वार्ता गर्न भन्दै उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तारा लुईंटेल र महामन्त्री राजाराम बर्तौला रहेको वार्ता टोली गठन गरेको छ ।

राप्रपा नेपालले बृहत् राष्ट्रिय मोर्चा निर्माण तथा पार्टीको तर्फबाट आन्दोलनको तयारीका निम्ति गर्नुपर्ने अन्य आवश्यक कार्यलाई सँगसँगै अगाडि बढाइने जनाएको छ ।

राप्रपा नेपालले वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको भन्दै गणतन्त्र भ्रष्ट,चोरतन्त्र, आफन्तवाद,लुटतन्त्र तथा तस्करीतन्त्रमा परिणत भएको टिप्पणी समेत गरेको छ ।

राप्रपा नेपालले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र र स्थानीय गरी दुई तहको राज्य संरचना र सरकार, जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा राष्ट्रिय सभाका लागि समानुपातिक निर्वाचन प्रणालीको समेत प्रस्ताव गरेको छ ।

राप्रपाले युवा दस्ताको तयारी गर्ने, मेची महाकाली जनजागरण यात्रा गर्ने र राजधानी केन्द्रीत प्रर्दशन गर्ने निर्णय समेत गरेको छ ।