नयाँ वर्ष अफर ल्याएर ग्राहक लोभ्याउँदै अटो व्यवसायी


काठमाडौँ । आर्थिक मन्दीले थला परेको अटो बजारलाई केही हदसम्म चलायमान बनाउनको लागि नयाँ वर्ष २०८१ साललाई लक्षित गर्दै अटोमोबाइल व्यवसायीहरूले अफरहरू सार्वजनिक गर्न थालेका छन् ।

विदेशी मुद्राको संञ्चितीमा कमि आएको भन्दै सवारी आयातमा लगाएको प्रतिबन्धले थलिएको अटाे व्यवसायलाई उकास्नकाे लागि व्यवसायीहरूले ग्राहक तान्नका लागि विभिन्र अफरहरू सार्वजनिक गरेका हुन् ।

नयाँ वर्ष र चाडपर्वहरूलाई लक्षित परेर घोषणा हुने यस्ता छुट र अफरहरू ग्राहकका लागि लाभदायी हुने गरेका छन् । विभिन्न अफर योजनाले शोरुममा ग्राहक कति तान्ला ? त्यो भने हेर्न बाकीँ नै छ तर ग्रहक रिझाउन सवारी बिक्रेता केही कम्पनीले नगद छुटको अफर सार्वजनिक गरेका छन् भने केहीले स्पेयर पार्ट्सका मूल्यमा छुट, एक्सचेन्ज अफर, सर्भिसिङ निशुल्क जस्ता अफरहरू ल्याएकाे एक अटाे व्यवसायीले बताए ।

गाडी खरिदकर्ता नयाँ वर्ष तथा दशैं तिहार जस्तो चाडबाडकाे अफर कुरेर बसेका हुन्छन् । यही कारण नयाँ वर्षमा पनि सवारी सधान उल्लेखनीयरूपमा बिक्री हुने व्यवसायीहरूको आंकलन छ ।

गाडीको खरिदमा सरल किस्ताबन्दी र विभिन्न सुविधा दिने घोषण अटो व्यवसायीहरूले गरेका छन् जसले ग्राहकलाई लोभ्याउने उनीहरूको अपेक्षा छ । त्यस्तो अफर ल्याउँदा समेत नागरिकहरू सवारी साधनप्रति आर्कषित नभएको व्यवसायीहरूले बताउने गरेका छन् ।

कुन ब्राण्डको कस्तो अफर ?
बेनेली: १ लाखसम्म छुटको व्यवस्था
इटालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो ।

योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाखसम्मको छुट दिने जनाइएको छ ।

सुजुकीः १० हजार रुपैयाँ नगद छुट
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले ‘नयाँ वर्ष–२०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक गरेको छ । मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकलाई लक्षित गरी नयाँ वर्षको अवसरमा यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुटका साथै थप स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म क्यास एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ ।

हुन्डाईः खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद
हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनामा ग्राहकको यात्रालाई खास बनाउन तीन गुणासम्म नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीको भनाइ छ । सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले बताएको छ ।

जि.डब्लु.एमः ब्राण्ड अनुसारको नगद छुट

जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा ‘शानदार नव वर्ष २०८१’ योजना ल्याएको छ ।

यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरू प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ।

जि.डब्लु.एमका मोडेलहरूमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभीमा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बिमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच् सिक्स, र जोलायनमा ८।५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेको कम्पनीले जनाएको छ ।

सेगवेः एक रात नगरकोटमा बसाईँ जित्ने मौका

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आगामी नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो ।
गत चैत १९ गदेखि आउदो वैशाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा इेलेक्ट्रिक स्कुटरको लोकप्रिय सेगवेकाइ–स्कुटरहरू विशेष अफरमा ग्राहकहरूले चयन गर्ने मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्तगर्न सक्नेछन् । विशेष गरी, ई १२५ र ई ११० एल २५ हजार रुपैयाँसम्म, ई १०० मा २० हजार रुपैयाँसम्म र एन १०० मा १५ हजार रुपैयाँसम्म विशेष नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई क्लब हिमालय नगरकोटमा १ रात २ दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गरिएको छ ।