काठमाडौँ । नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.को सहकार्यमा सञ्चालन हुँदै आएको मोही प्रवर्द्धन अभियानले नयाँ उपलब्धि हासिल गरेको छ। ललितपुरको नवप्रभात डेरी उद्योगले ‘प्रभात मोही’ ब्राण्ड अन्तर्गत लेबलिङ र प्याकेजिङ गरिएको मोही बजारमा ल्याएको छ।
शनिबार दरबारमार्गस्थित ओरियन्ट होटलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा ‘प्रभात मोही’ को पहिलो बिक्री वितरण हाटबजारबाट सुरूवात गरिएकाे छ। कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, महासंघका केन्द्रीय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, डेरी उद्यमी लगायतको उपस्थिति रहेको थियो।

डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मोहीलाई ब्राण्डिङ गरी उपभोक्तासम्म पुर्याउने आफ्नो ठूलो सपना पूरा हुँदै गएको बताए। कृषि उद्यम केन्द्रका सभापति बस्नेतले डेरी उद्योगले दुग्ध पदार्थ विविधीकरण गर्न गरेको मेहनतको प्रशंसा गरे। महासंघका सदस्य श्रेष्ठले डेरी एसोसिएसन व्यवसायिक संगठनका रूपमा अग्रस्थानमा रहेको बताइन् भने पाण्डेले स्वास्थ्यका लागि हितकर मोहीको उपभोग गर्न उपभोक्तालाई आग्रह गरे।

हेमराज ढकालले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत मौलिक उत्पादनलाई प्रवर्द्धन गर्दै आएको बताए। उनले नेपाल डेरी एसोसिएसनको मोही अभियान देशभर फैलिएको उल्लेख गर्दै नवप्रभात डेरी उद्योगलाई शुभकामना दिए।
डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, नवप्रभात डेरी उद्योगका कार्यकारी प्रबन्धक सुरेश तिमल्सिना, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, नुवाकोट अध्यक्ष दिपक ढुंगानालगायतले दुग्ध क्षेत्रको महत्वबारे प्रकाश पार्दै कृषि क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक रहेको धारणा राखे।
नेपाल डेरी एसोसिएसनको मोही प्रवर्द्धन अभियानको प्रभावले उपत्यका बाहिरका डेरी उद्योगले पनि लेबलिङ र प्याकेजिङ गरिएको मोही बजारमा ल्याउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्