काठमाडाैँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको बताएका छन्।
सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले शिक्षामन्त्रीले नेपाल शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक दिशातर्फ गएको जानकारी प्राप्त भएको बताएका हुन् ।
उनका अनुसार पर्सिसम्म शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् बैठक अघि सरकारका तीन मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त तथा एमाले महासचिव शंकर पोखरेल र नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शिक्षक महासंघका पदाधिकारीहरूसँग आन्दोलन र मागका विषयमा छलफल गरेका थिए।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा करिब तीन घण्टा चलेको छलफलपछि ती तीन मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए। सरकार र शिक्षक महासंघबिचको छलफलले आन्दोलनको समाधानतर्फ सकारात्मक संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस्