उडानका बेला टिकटक बनाउने ७ हेलिकप्टर कम्पनीका १२ पाइलट अनिश्चितकालका लागि ग्राउन्डेड


काठमाडौँ । उडानका बेला टिकटक बनाउने १२ जना पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

हवाई सुरक्षालाई चुनौती दिने गरी टिकटक बनाएको भन्दै प्राधिकरणले पछिल्लो एक महिनाभित्रै ७ हेलिकप्टर कम्पनीका १२ पाइलटलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरेको हो ।

अवतरणमा लापरबाही गरेको भन्दै मुस्ताङ हेलिकप्टर प्रा.लि.को हेलिकप्टर समेत ग्राउन्डेड गरिएको प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् फोटो : लापरबाहीपूर्वक अवतरण गरेको मुस्ताङ हेलिकप्टर प्रा.लि.को हेलिकप्टर

उडानका बेला भिडियो तथा फोटोग्राफी गर्न पाइदैन तर हेलिकप्टरका पाइलटहरूले सुरक्षालाई नै चुनौती दिने गरेर उडानका क्रममा नै टिकटक बनाउन थालेपछि प्राधिकरणले कडाइ गरेको हो । सबै पाइलटलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरिएको छ ।

“पाइलटहरूले सुरक्षा चुनौती दिनेगरी टिकटक बनाएको भेटिएपछि अनिश्तिचकालका लागि ग्राउन्डेड गरिएको छ ,” प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,“हवाई सुरक्षामाथिको खेलवाड कुनै हालतमा सैह्य हुँदैन । नियम उल्लङ्घन गर्नेमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुन्छ ।”

हेलिकप्टर हेरेर उडान गर्नुपर्ने, मौसममा ध्यान दिनुपर्ने तथा हाइटेनसन लाइन र हावालाई समेत ख्याल गर्नुपर्ने र भौगोलिक जटिलता समेत भएकाले पाइलटले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो समय पाइलटहरू उडानकै क्रममा टिकटक बनाउन थालेपछि हवाई सुरक्षामा सम्झौता नगर्ने भन्दै प्राधिकरणका महानिर्देशक अधिकारी आक्रमक बनेका छन् ।

केही समय पहिले ककपिटमै भिडियो बनाएको भनेर ‘सेलिब्रेटी’ पाइलट विजय लामालाई समेत महानिर्देशक अधिकारीले दुइ पटक ग्राउन्डेड गरिदिएका थिए ।

पछिल्लो एकमहिनाभित्र ग्राउन्डेड हुने पाइलटमा सबैभन्दा बढी एयर डाइनेष्टी र हेलि एभरेष्टका ३/३ जना रहेका छन् ।
यस्तै अल्टिच्युट एयर नेपाल, कैलाश हेलिकप्टर्स सर्भिस, मनाङ हेलिकप्टर प्रा.लि, मुस्ताङ् हेलिकप्टर्स र प्रभु हेलिकप्टरका १/१ जना पाइलटलाई ग्राउन्डेड गरिएको छ ।

हवाई सुरक्षा उल्लघङ्न गरेर टिकटक भिडियो बनाउने ५० जनाभन्दा बढी पाइलटलाई प्राधिकरणले कारबाही गरिसकेको छ ।