कृषि अनुदान दुरुपयोगमा संलग्नमाथि कारवाहीको अन्तिम तयारीमा सरकार


काठमाडौँ । कृषि अनुदान दुरुपयोगमा संलग्न भएकाहरूमाथि सरकारले कारवाही अघि बढाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विगतमा वितरण गरिएका अनुदानको दुरुपयोगबारे विस्तृत छानबिन भइ अब कारवाही प्रक्रिया सुरु हुन लागेको जानकारी दिएका हुन् ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री अधिकारीले सम्बद्ध निकायहरूले अनुदान दुरुपयोगको विवरण संकलन गरेर प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको उल्लेख गरेका हुन्।

उनले भने, “देशभरि विगतमा वितरण गरिएका अनुदानको कसरी प्रयोग भयो भन्नेबारे छानबिन गरी विवरण संकलन गरिएको छ, अब केही दिनमै कारवाही प्रक्रिया अघि बढ्छ । केही दिनमै सार्वजनिक हुनेछ ।”

मन्त्री अधिकारीका अनुसार अबदेखि कृषि अनुदान एक हजार रुपियाँ पनि दुरुपयोग नहुने व्यवस्था सरकारले मिलाएको छ । उनले विगतमा करोडौँको अनुदान पहुँचवालाहरूले लिएर दुरुपयोग गरेको र असली किसानले अनुदान नपाएको अवस्था अब अन्त्य गरिने बताए ।

“अब असली किसानले मात्र अनुदान पाउने छन्, पहुँचवालाहरूले भने पाउने छैनन्,” उनले भने । उनले निवेदनका भरमा अनुदान दिने पुरानो अभ्यास अब दोहोरिन नदिने स्पष्ट पारे।

“विगतमा एउटा निवेदनका भरमा करोडौँको अनुदान लिने र दुरुपयोग गर्ने गरिन्थ्यो, अब पहिले जस्तो हुन दिँदैनौं,” मन्त्री अधिकारीले भने, “अब कडा मापदण्ड बनाइएको छ र त्यसका आधारमा मात्र अनुदान वितरण गरिनेछ ।”