पहिलोपटक डेल्फी–टीभीएस सीआर इन्जेक्टर टेस्ट बेन्च नेपालमा


काठमाडौँ । भारतको प्रतिष्ठित कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा उत्पादित डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्रिएको छ ।

नेपालका लागि आधिकारिक वितरकको रूपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपाल भित्र्याएको हो ।

कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या पहिचान र मर्मत गर्न सकिने कम्पनीकाे दाबी छ । यसबाट बीएस फोर र बीएस सिक्स सबै मोडलका गाडीको इन्जेक्टरमा भएको समस्या थाहा पाउन सकिने कम्पनीले जनाएकाे छ ।

लुकास इन्डियन सर्भिस लिमिटेडका सर्भिस हेड बी लक्ष्मणनले भने, “गाडीको इन्जेक्टरलाई यसमा भएको इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात ईसीयूले रिड गर्छ र यसमा भएको समस्यालाई कोडिङ गरेर समाधानको लागि आवश्यक जानकारी उपलब्ध गराउँछ ।”

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले यस प्रकारको मेसिन नभएका कारण इन्जेक्टर र यससँग सम्बन्धित समस्या पहिचान गर्न समस्या भएको तथा गाडी मर्मत गर्दा पनि केही समयमै बिग्रिने अवस्था भएकोले नेपाल भरका अटो मेकानिक्सह?लाई समस्या पहिचानमा कठिनाई भएको अवस्थामा अब यो मेसिनले धेरै सजिलो बनाउने बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अन्य सर्भिस सेन्टर भए पनि बीएस फोर र बीएस सिक्सलाई केन्द्रित गरेर ल्याइएको सो मेसिनबाट आगामी दिनमा धेरै सहज हुने बताए ।

असरफ डिजेल सर्भिसले डेल्फी–टीभीएसको सर्भिस सेन्टर सञ्चालन गर्नुका साथै स्पेयर पार्ट्सको समेत कारोबार गर्नेछ । कम्पनीले सवारी साधनका लागि आवश्यक विभिन्न स्पेयर पार्ट्स समेत उत्पादन गर्छ ।

हालै नेपाल सरकारले बीएस सिक्स मोडलका गाडी मात्र नेपाल भित्र्याउने गरी कानुन कार्यान्वयनमा ल्याएको छ । यस सन्दर्भमा डेल्फी–टीभीएसको सीआर इन्जेक्टर पहिलो पटक नेपाल भित्रिएको छ भने यसको सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवसाय समेत सञ्चालनमा आएको छ ।