नेप्से सूचकाङ्क गणना अन्तिम कारोबार मूल्यमा आधारित : बजारमा कस्तो प्रभाव पर्ला ?


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ प्रावधान ल्याएसँगै नेप्से सूचकाङ्क अबदेखि अन्तिम कारोबार मूल्यका आधारमा गणना हुने भएको छ।

बोर्डले असोज ४ गते धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा १० अनुसार दिएको निर्देशनअनुसार, विगतमा लागू रहेको “भारित औसत मूल्य” प्रणालीलाई तत्कालका लागि स्थगन गरेको हो।

यसअघि दिउँसो २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम हुने भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिन्थ्यो। सो अवधिमा कुनै कारोबार नभए पछिल्लो कारोबार मूल्यलाई आधार मानिन्थ्यो। तर, अब नयाँ व्यवस्थाअनुसार सूचकाङ्क प्रत्यक्ष अन्तिम कारोबार मूल्यमै आधारित हुनेछ।

यस प्रावधानको प्राविधिक परीक्षण असोज ५ गते सम्पन्न भएको छ। असोज ६ गते सार्वजनिक बिदा परेकाले असोज ७ गतेदेखि नै यो नियम लागू हुने भएको छ।

नयाँ व्यवस्थाले बजार सूचकाङ्कलाई तत्कालीन वास्तविक कारोबारसँग प्रत्यक्ष रूपमा जोड्ने भएकाले “पारदर्शिता” बढ्ने लगानीकर्ताले अपेक्षा गरेका छन् । लगानीकर्ताले अन्तिम मूल्यकै आधारमा सूचकाङ्क हेर्न पाउने हुँदा भ्रम कम हुनेछ।

तर, यसले बजारमा केही चुनौती पनि ल्याउने देखिन्छ। अन्तिम क्षणमा सानो परिमाणको कारोबार भए पनि त्यसले सूचकाङ्कलाई ठूलो उतारचढाव गराउन सक्छ। यसरी “क्लोजिङ प्राइस म्यानेजमेन्ट” गर्ने जोखिम पनि बढ्न सक्ने चिन्ता रहने सेयरबजारका जानकारहरु बताउँछन् ।

नेप्सेमा प्रायः सूचकाङ्कको गणना प्रणालीबारेमा आलोचना हुने गरेको छ। “भारित औसत” प्रणालीलाई केहीले स्थिर भने पनि पारदर्शितामा प्रश्न उठाइएको थियो। बोर्डले अन्ततः अन्तिम कारोबार मूल्यलाई आधार मान्ने निर्णय गर्दा बजारलाई तत्कालीन अवस्थामा प्रतिबिम्बित गर्ने अभ्यास सुरु गरेको छ।