काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि कार्यान्वयन हुनेगरी सर्किट ब्रेकरमा नयाँ व्यवस्था लागू गरेको छ ।
योसँगै अब एक कारोबारको दिन कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशत सम्म वृद्धि हुनेछ । हालसम्म १० प्रतिशतसम्म सर्किट ब्रेकरको व्यवस्था थियो ।
यो व्यवस्थाले लगानीकर्ता, ब्रोकर, नियामक र विश्लेषकबिच तीव्र बहस सुरु भएको छ । अब सेयर मूल्य एकै कारोबार दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने भएपछि बजार थप स्वतन्त्र बन्ने कि झन् अस्थिर हुने भन्ने प्रश्न उठेको छ ।
एकातर्फ बजारलाई अझै स्वतन्त्र बनाउने प्रयासका रूपमा हेरिएको छ भने अर्को तर्फ जोखिम बढाउने चिन्ता पनि उत्तिकै छ ।
नेपालको पुँजीबजार अहिले सङ्क्रमणको चरणमा रहेको छ, जहाँ प्रत्येक नीतिगत परिवर्तनले बजारको दिशा तय गरिरहेको अवस्थामा नेप्सेको निर्णयले जोखिम निम्याउन सक्ने लगानीकर्ताको आँकलन छ ।
नेपालको सेयर बजार १५ प्रतिशतको सर्किट ब्रेकर धान्ने अवस्थामा नरहेको लगानीकर्ता खगेन्द्रराज कँडेलले बताए ।
नेप्सेले १५ प्रतिशत सर्किट ब्रेकर व्यवस्था पर्याप्त अध्ययन, सरोकारवालासँग परामर्श र बजार पूर्वाधारको तयारीबिनै ल्याइएको कँडेलले आरोप लगाए ।
कँडेल भन्छन्,“विभिन्न लगानीकर्ता सङ्घ–सङ्गठन, पुँजीबजार विज्ञ तथा सम्बन्धित क्षेत्रका जानकारसँग पर्याप्त छलफल गरिएको पनि छैन । अन्तर्राष्ट्रिय अभ्यासको नाममा निर्णय गरिए पनि नेपालको बजार अझै त्यसअनुसार परिपक्व भएको छैन ।
उनका अनुसार बजार निगरानी, प्रविधि, लगानीकर्ता शिक्षा र नियामकीय क्षमता कमजोर रहेकै अवस्थामा १० प्रतिशत व्यवस्थासमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको सन्दर्भमा १५ प्रतिशत सर्किट किन आवश्यक पर्यो भन्ने स्पष्ट आधार सार्वजनिक गरिएको छैन ।
कँडेलले यस्तो निर्णयअघि प्रभाव अध्ययन, बजार अनुसन्धान र औपचारिक प्रतिवेदन सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै तयारीबिनाको नीतिगत परिवर्तनले बजारमा अनपेक्षित परिणाम ल्याउन सक्ने चेतावनी दिए ।
हालसम्म सीमित दायरामा चलिरहेको बजारलाई एकैदिन १५ प्रतिशतसम्म घटबढ गर्न दिने निर्णयले मूल्य निर्धारण लाई स्वाभाविक बनाउन सक्ने एकथरीको अपेक्षा छ ।
विशेषगरी बजारमा कृत्रिम रोकावटका कारण थुनिएको ‘डिमान्ड–सप्लाई’ अब सहज रूपमा देखिन सक्ने सेयरबजारका केही जानकारहरू बताउँछन् । तर नेपालजस्तो सानो कता कमजोर नियमन भएको बजारमा यस्तो स्वतन्त्रत कति सुरक्षित ? भन्ने प्रश्न पनि उठिरहेको छ ।
नेपालको सेयर बजार अझै पनि थोरै लगानीकर्तामा सीमित छ । ठुला संस्थागत लगानीकर्ताको सहभागिता कम छ, बजार मुख्यतः साना व्यक्तिगत लगानीकर्ताको किनबेचले चलिरहेको छ ।
यस्तो अवस्थामा सर्किट दायरा बढाउँदा बजारमा ‘हाइप’ र ‘प्यानिक’ दुवै तीव्र हुने जोखिम रहने लगानीकर्ताहरूको भनाई छ ।
कुनै सकारात्मक हल्ला फैलिँदा सेयर मूल्य अनावश्यक रूपमा उकालो लाग्न सक्छ भने नकारात्मक संकेतमा उस्तै तीव्र गिरावट आउन सक्छ । अर्कोतर्फ, सर्किट ब्रेकरको उद्देश्य नै बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्नु हो । यदि दायरा नै फराकिलो बनाइयो भने त्यसको नियन्त्रणकारी भूमिका कमजोर हुने तर्क पनि उठेको छ ।
अन्तरािष्ट्रय अभ्यास हेर्दा सर्किट प्रणाली अझै परिष्कृत छ । भारतीय सेयर बजारमा कम्पनीअनुसार २% देखि २०% सम्म फरक–फरक सीमा तोकिएको हुन्छ । त्यहाँ तरलता, बजार पूँजीकरण र जोखिमका आधारमा वर्गीकरण गरिन्छ ।
नेपालको पुँजीबजार आकारमा सानो र अझै विकासोन्मुख चरणमा रहेकाले १५ प्रतिशत सर्किट ब्रेकरजस्ता व्यवस्था लागू गर्दा कडा अनुगमन र प्रभावकारी सूचना प्रणाली अनिवार्य हुने सेयरबजारका जानकार अनलराज भट्टराईले बताए ।
उनका अनुसार नियम परिवर्तन मात्रैले बजार राम्रो वा खराब हुने होइन, बजारमा समयमै सही सूचना प्रवाह, सूचीकृत कम्पनीहरूको मूल्य–संवेदनशील जानकारी तत्काल सार्वजनिक हुने व्यवस्था, वार्षिक रेटिङ अनिवार्य गर्ने प्रणाली तथा रियल–टाइम सुपरभिजन बलियो हुनुपर्छ । बजारलाई क्रमशः स्वतन्त्र छोड्न सकिने तर स्वतन्त्रता जति बढाइन्छ, नियमन र निगरानी पनि त्यति नै सशक्त हुनुपर्ने उनको भनाई छ ।
भट्टराईले भने, “नेपालको बजार सानो भएकाले सानो सूचनाले पनि मूल्यमा ठुलो असर पार्न सक्छ, त्यसैले पारदर्शिता र अनुगमन मजबुत भए १५ प्रतिशत सर्किटलाई सकारात्मक रूपमा लिन सकिन्छ ।”
नेपालमा भने सबै कम्पनीलाई एउटै १५% दायरामा राख्नु दीर्घकालमा उपयुक्त नहुन सक्ने केही जानकारहरू भने यसले छोटो अवधिमा अस्थिरता बढाए पनि दीर्घकालमा बजारलाई गहिरो र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् ।
१५% सर्किट ब्रेकर ‘सही कि गलत’ भन्ने प्रश्नभन्दा पनि यो नेपालका लागि ‘कति तयारीसहित लागू गरिएको हो ?’ भन्नेमा निर्भर देखिने उनिहरुको धाराणा छ ।
यदि नियामक निकायले सँगसँगै जोखिम व्यवस्थापन, लगानीकर्ता शिक्षा, कम्पनी वर्गीकरण र बजार निगरानी प्रणाली बलियो बनायो भने यो कदम अवसर बन्न सक्छ । तर संरचना कमजोर रहेमा यही निर्णय बजार अस्थिरताको कारण पनि बन्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्