काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेसँगै महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् । महानगरले मुख्यतया ६ वटा महत्वपूर्ण पाटाहरूमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ ।
प्रशासनिक अवस्था, भौतिक पूर्वाधार (शौचालय, किचेन आदि), आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणबारे अनुगमन गरिएको उनले बताए । आफूहरुको मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने भएको र व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिइने बताएका हुन् । अनुगमनका क्रममा कतिपय होस्टेलहरू महानगरमा दर्ता नै नभई सञ्चालन भएको भेटिएका छन् भने कतिपयमा न्युनतम पूर्वाधारको समेत अभाव देखिएको छ ।
ज्ञवालीले भने, “हाम्रो मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने हो । व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिन्छौं । दूरदराजबाट आएका विद्यार्थीहरू जो लोकसेवा वा अन्य परीक्षाको तयारी गरिरहेका छन्, उनीहरू अलपत्र नपरुन् भन्ने हाम्रो प्राथमिकता हो ।”
महानगरले कमजोरी देखिएका होस्टेलहरूलाई निश्चित समय सीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ । यदि दिएका सुझावहरू कार्यान्वयन नभएमा कार्यविधि अनुसार कडा कारबाही र होस्टेल नै बन्द गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए ।
उनले व्यवसायीहरूको हकहित प्रवद्र्धन गर्दै मर्यादित व्यवसायको वातावरण सिर्जना गर्ने महानगरको दृढता रहेको व्यक्त गरे ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै व्यवसायीहरूलाई स्वास्थ्य र सरसफाईमा विशेष केन्द्रित हुन निर्देशन दिए । अनुगमनका क्रममा उनले होस्टेल व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र नभई एक संवेदनशील सेवामूलक क्षेत्र भएको स्पष्ट पारे। श्रेष्ठकाअनुसार होस्टेल सञ्चालकहरूमा सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान हुनु अनिवार्य छ ।
“नितान्त पैसाको लागि मात्रै होस्टेल व्यवसाय खोल्नुभन्दा पनि अलिकति सेवाको भावबाट काम गर्नुपर्छ,” उनेले भने, “विद्यार्थी बस्ने कोठामा कम्तीमा झ्याल हुनुपर्यो, हावा ओहोरदोहोर गर्ने फुकुलो वातावरण हुनुप¥यो ।”
उनले विशेषगरी खानेकुराको गुणस्तरमा जोड दिँदै सकेसम्म अर्गानिक खानेकुराहरू खुवाउन सुझाव दिए । निरीक्षणका क्रममा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । भ¥याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको र झ्यालै नभएको कोठाहरूमा विद्यार्थी व्यवस्थापन गरिएको गुनासो प्राप्त भएको भन्दै ती क्षेत्रहरूको पनि अनुगमन बाँकी रहेको उनले बताए ।
श्रेष्ठले घर भाडा महँगो हुनु र विद्यार्थीको चाप कम हुनु व्यवसायीका दुःखका पाटो भएपनि त्यसको बहानामा स्वास्थ्यमा हेलचेक्र्याइँ गर्न नपाइने बताए ।
यो अनुगमन काठमाडौं महानगरपालिकाले पहिलो पटक फिल्डमै आएर शुरु गरेको हो । यसभन्दा अगाडि नीतिगत छलफलहरू भएपनि प्रत्यक्ष अनुगमन नहुँदा धेरै त्रुटिहरू भेटिएको उनले बताए । अझै पनि ३–४ वटा होस्टेलमा उपलब्धिमूलक नतिजा देखिएको र आगामी दिनमा पनि यस्ता अनुगमनहरू निरन्तर रहने उनले चेतावनी दिए ।
महानगरको यो अनुगमनले विद्यार्थीका लागि स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित गर्ने मात्र नभई होस्टेल क्षेत्रलाई एउटा मर्यादित र व्यवस्थित सेवामूलक व्यवसायको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
झापाको दमक घर भएकी स्वस्तिका श्रेष्ठ स्नातक पहिलाे वर्षकाे परीक्षाको तयारीका लागि काठमाडौँ आएको चार महिना भएको छ । पहिलो पटक होस्टेल बस्न थालेकी उनले शुरुमा धेरै चिन्ता लिए पनि अहिलेको आफ्नो जीवनशैलीप्रति पूर्ण सन्तुष्ट रहेको बताइन् । अनामनगरको एक होस्टेलमा थ्री–सिटर कोठामा बसिरहेकी स्वस्तिकाले मासिक १२ हजार रुपैयाँ शुल्क तिर्दै आएकी छिन् । यो शुल्कमा उहाँले एट्याच्ड बाथरुम, बिहान–बेलुकाको खाना र दिउँसोको खाजा सहितका सुविधाहरू पाएकी छिन् ।
“मुख्य चिन्ता त खानाकै थियो तर खाना र सरसफाई दुवै एकदमै राम्रो छ,” उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।
होस्टेलको वातावरण पारिवारिक रहेको र सञ्चालकदेखि कर्मचारीहरूसम्म सहयोगी रहेको उनले बताइन् । पहिलो अनुभव भएपनि उनले होस्टेललाई पढ्नका लागि उपयुक्त स्थानको रूपमा पाइन् । स्वस्तिकाकाअनुसार होस्टेलको रुम अकोमोडेशन र अन्य व्यवस्थापनले गर्दा बाहिरबाट पढ्न आउने विद्यार्थीलाई सजिलो भएको छ ।
यद्यपि सबै होस्टेलहरूको अवस्था यस्तो नहुन सक्ने भन्दै महानगरको अनुगमनले अन्य विद्यार्थीले पनि यस्तै किसिमको स्वस्थ वातावरण पाउने आशा उनकाे छ । उनले होस्टेलमा बस्दा सरसफाई र अनुशासनलाई विशेष प्राथमिकता दिनुपर्ने आफ्नो बुझाइ रहेको बताइन् ।
होस्टेल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य दिनेश पराजुलीले काठमाडौँ महानगरपालिकाको अनुगमन कार्य सहरानीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । लामो समयको ग्यापपछि शुरु भएको अनुगमनले बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्ने उनले विश्वास व्यक्त गरे ।
पराजुलीकाअनुसार अहिले कतिपय व्यवसायीहरू कुनै पनि संघ वा वडामा दर्ता नभई आफूखुशी होस्टेल सञ्चालन गरिरहेका छन् ।
“हामीले दर्ता भएका र नभएका होस्टेलहरूको विवरण महानगरलाई बुझाएका छौं,” उनले भने “नियम संगत चल्नेहरूलाई प्रोत्साहन र नियम नमान्नेहरूलाई कारबाही गर्ने प्रक्रियामा सरकारी निकायलाई हाम्रो पूर्ण सहयोग रहनेछ ।”
महानगरले ल्याएको मापदण्डका अधिकांश बुँदाहरू व्यवहारिक रहे पनि केही कुराहरू जस्तै लाइब्रेरी र खेलकुदका लागि ठूलो ठाउँ उपलब्ध गराउन अहिलेको काठमाडौँको महँगो भाडा दरका कारण चुनौतीपूर्ण रहेको उनले औंल्याए । तर समग्रमा व्यवसायीहरू व्यवस्थित हुनैपर्नेमा उनले जोड दिए ।
होस्टेल व्यवसायीहरूले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरण दिनु आफ्नो कर्तव्य भएको वोध गर्दै महानगरको शिक्षा विभाग र वडा कार्यालयसँग सहकार्य गरिरहने प्रतिवद्धता उनले जनाए ।
अनुगमनले केवल गल्ती खोज्ने मात्र नभई व्यवसायीलाई घच्घचाउने काम गर्ने उनको बुझाइ छ । काठमाडौँ महानगरपालिकाले आइतबार अनामनगरस्थित महिला होस्टेलहरुको अनुगमन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्