काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना जेठ मसान्त सम्म नेपालमा बिमाको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार देशको ५१.०२ प्रतिशत जनसङ्ख्या बिमाको दायरामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो अनुपात ४७.९५ प्रतिशत थियो।
बिमा को पहुँच विस्तारसँगै बिमा कम्पनीहरूको व्यवसाय पनि दोहोरो अंकले बढेको छ।
समीक्षा अवधिमा जीवन, निर्जीवन तथा लघु बिमा कम्पनीहरूले कुल २ खर्ब २३ अर्ब २३ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा शुल्क सङ्कलन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँको तुलनामा १४.४६ प्रतिशत बढी हो।
जीवन बिमा क्षेत्रमा मात्रै १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बिमा शुल्क सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.५० प्रतिशतले बढी हो।
यसमध्ये ४३ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ प्रथम बिमाशुल्क र १ खर्ब ३४ अर्ब ३२ लाख रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ। प्रथम बिमाशुल्क २४.१० प्रतिशत र नवीकरण बिमाशुल्क ११.६९ प्रतिशतले बढेको छ।
सक्रिय जीवन बिमा लेखको सङ्कलन पनि बढेर १ करोड ६६ लाख ५५ हजार ४८३ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशतको वृद्धि हो।
उता, निर्जीवन बिमा कम्पनीहरूले ११ महिनामा ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १४.२९ प्रतिशत बढी हो।
निर्जीवनतर्फ म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमा लेखबाहेक बिमा लेख संख्या ६१ लाख १७ हजार ३२२ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १०.४९ प्रतिशतले बढी हो।
त्यस्तै वैदेशिक रोजगार जीवन बिमालेखमा भने गिरावट देखिएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगार बीमालेख सङ्कलन २४ लाख १० हजार ८७१ मा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.१२ प्रतिशतले कम हो। विपरीत, म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्या ९.५१ प्रतिशतले बढेर ८१ लाख २७ हजार २९० पुगेको छ।
हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्।



प्रतिक्रिया दिनुहोस्