काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालको घरजग्गा बजारमा केही सुधारको सङ्केत देखिएको छ ।
यस अवधिमा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यही अवधिमा भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा लिखतपारित अन्तर्गतको कुल कारोबार सङ्ख्या ०.६२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, लिखतपारित अन्तर्गतको राजीनामा कारोबार १२.१७ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो कारोबार ३.२६ प्रतिशतले घटेको थियो।
घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कारोबार भएको क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।
यस अवधिमा देशभर रु. १८३.९० अर्ब बराबरको घरजग्गा कारोबार भएको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो कारोबार रु. १००.०७ अर्बमा सीमित थियो। यसले घरजग्गा बजारमा कारोबार रकम उल्लेखनीय रूपमा बढेको सङ्ख्या गरेको छ ।
घरजग्गा कारोबारबाट सङ्कलित राजस्व पनि २३.७२ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो। त्यसैगरी, घरजग्गा कारोबारबाट सङ्कलन भएको पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ, जबकि गत वर्ष सोही अवधिमा यसको वृद्धि १८.३१ प्रतिशत रहेको थियो।
अहिले घरजग्गा बजारमा केही सुधार हुँदै आएको छ तर यो सुधार मुख्यतः बिचमा कित्ताकाट खुलाइएका कारण देखिएको हो । साउन १ गतेदेखि पुनः कित्ताकाट बन्द हुने भएकाले त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा पर्नेछ र फेरि कारोबार घट्छ- विष्णुप्रसाद घिमिरे,अध्यक्ष,नेपाल जग्गा तथा आवास विकास महासङ्घ
यस्तै, समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो।
पछिल्लो परिदृष्य हेर्दा घरजग्गा कारोबार सङ्ख्या, कारोबार रकम, राजस्व तथा पुँजीगत लाभकरमा वृद्धि देखिए पनि बैंक कर्जाको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा केही सुस्त देखिएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घ अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा कारोबारमा पछिल्लो समय केही सुधार देखिए पनि त्यो दिगो नभएको बताए ।
उनले भने, “अहिले घरजग्गा बजारमा केही सुधार हुँदै आएको छ तर यो सुधार मुख्यतः बिचमा कित्ताकाट खुलाइएका कारण देखिएको हो।” घिमिरेका अनुसार साउन १ गतेदेखि पुनः कित्ताकाट बन्द हुने भएकाले त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा पर्नेछ र कित्ताकाट बन्द भएपछि फेरि कारोबार घट्छ, त्यसपछि बजारलाई पुनः चलायमान बनाउन समय लाग्छ ।
उनले बजारलाई स्थायी रूपमा चलायमान बनाउन सरकारले स्पष्ट नीति र आवश्यक व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै यो क्षेत्र सहज रूपमा चल्न सरकारले आवश्यक नीतिनियम ल्याउनु पर्ने बताए ।
घिमिरेले नक्सापास तथा म्यापिङ सम्बन्धी कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “अब म्यापिङको काम पूरा गरेर त्यसको आधारमा प्रक्रिया अघि बढाउनुपर्छ। अहिले ७५३ पालिकामध्ये करिब ३४० वटामा मात्रै आवश्यक काम सम्पन्न भएको अवस्था छ।“
सरकारले भूउपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेर २०८२ कात्तिकमा ८ महिनाको लागि मात्र घरजग्गाको कित्ताकाट खुला गरेको थियो ।
२०७९ मा लागू भएको नियमावलीअनुसार खेतीयोग्य, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा वनलगायत श्रेणीमा वर्गीकरण गरेर मात्र कित्ताकाट गर्न पाइने व्यवस्था थियो । तर ७५३ मध्ये आधाभन्दा बढी स्थानीय तहले वर्गीकरण प्रक्रिया सम्पन्न गर्न नसकेपछि साउनदेखि देशभर धेरै स्थानमा कित्ताकाट रोकिएको थियो ।
कित्ताकाट रोकिँदा सहकारी, बैंक तथा सर्वसाधारणको लगानी प्रभावित हुँदा बजार कारोबार सुस्त हुनुका साथै अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको भन्दै सरकारले नियमावलीमा फेरबदल गरी गत मंसिर महिनाबाट २०८३ असार मसान्त सम्मको लागि कित्ताकाट खुला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्