महङ्गियो सामान, वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत


काठमाडौँ । २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा १.६८ प्रतिशत रहेको मुद्रास्फीति २०८३ साउनमा बढेको हो ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायातको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८८ प्रतिशतले बढेको छ ।

प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सवैभन्दा बढी मधेश प्रदेशको ६.९४ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१ प्रतिशत, तराईको ६.६४ प्रतिशत, पहाडको ५.९५ प्रतिशत र हिमालको ५.१० प्रतिशत रहेको छ ।

२०८३ साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.३७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १३.६२ प्रतिशत र ६.४५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीकोवार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.८९ प्रतिशतले बढेको छ ।

२०८३ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । सन् २०२६ अगस्ट महिनामा भारतमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।