काठमाडौंँ । हाल सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै फैलिएको सूचनाप्रति जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण भएको जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले त्यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पार्दै मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। विभागले सामाजिक सञ्जालमा फैलिएका यस्ता भ्रमपूर्ण खबरको पछि नलाग्न तथा अनधिकृत सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
विभागले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।
महाशाखाले मौसमसम्बन्धी थप जानकारीका लागि काठमाडौँस्थित बबरमहलमा रहेको मौसम पूर्वानुमान महाशाखासँग सम्पर्क गर्न सकिने जनाएको छ। विभागले आफ्नो आधिकारिक फेसबुक तथा ट्विटरमार्फत समेत मौसमसम्बन्धी नियमित अपडेट सार्वजनिक गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्